काठमाडौं । बीमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेको छन् । बीमा समितिले आगामी चैत मसान्तसम्म जीवन बीमाको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमाको २ अर्ब ५० करोड पुर्याउन निर्देशन दिएसँगै बीमा कम्पनीहरु मर्जरमा जान थालेका हुन् ।
पछिल्लो दुई महिनामै ९ वटा बीमा कम्पनीहरुले एक आपसमा मर्जरमा जाने सम्झौता गरिसकेका छन् । यसैबीच, आज रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले एक आपसमा मर्जरमा जाने सम्झौता गरेका छन् ।
बुधबार सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स बीच मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा रिलायन्स लाइफका तर्फबाट संचालक भरतकुमार तोदी र सानिमा लाइफका तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरे।
दुवै कम्पनी १ः१ सेयर अनुपातमा मर्जरमा जाने भएका हुन् । हाल सानिमा लाइफको चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ भने रिलायन्स लाइफको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ। समान हैसियतमा मर्ज हुँदा एकीकृत चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ हुनेछ।
मर्जरपछि स्थापना हुने कम्पनीको कुल जगेडा कोष ५८ करोड १९ लाख रुपैयाँ हुनेछ । यसैगरी जीवन बीमा कोषको आकार ६ अर्ब ८० करोडभन्दा बढी हुने छ। महाविपत्ति जगेडा कोष ७ करोड ४९ लाख रुपैयाँ पुग्नेछ।
यसअघि, सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स, एभरेष्ट र हिमालयन जनरल, सूर्य लाइफ र ज्योती लाइफ, तथा युनियन लाइफ, प्राइम लाइफ र गुँरास लाइफ बीच एक आपसमा मर्ज हुने सम्झौता भइसकेको छ ।