काठमाडौं। स्टक ब्रोकर एशोसिएसनले नेपाल धितोपत्र बोर्डले आफूहरुसँग सल्लाह नै नगरी हतारमा नियमावली संशोधन गरेको बताएको छ ।
एशोसिएसनले सोमबार बोर्डलाई ज्ञापनपत्र बुझाउँदै धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गर्ने निर्णयप्रति आपत्ति जनाएको हो ।
बोर्डले सीमित समूहलाई फाइदा पुग्ने गरी नियमावली संशोधन गर्न खोजेको भन्दै एशोसिएशनले विरोध जनाएको छ। संशोधनमा राखिएको केही बुँदाले अहिले संचालनमा रहेका कम्पनी संकटमा पर्ने र सीमित समूहको नियन्त्रणमा पुग्ने एशोसिएसनले ठहर छ ।
बोर्डले आफूसँग सुझाव नलिइ नियमावली संशोधन गरेको र रातारात अस्वाभाविक हतारोमा किन ल्याएको भन्दै प्रश्न समेत गरेको छ। ब्रोकरहरुले अन्तर्राष्ट्रिय अभ्यास अनुसार सब ब्रोकर, आधिकारिक प्रतिनिधि र शाखारहित बैंकिङका लागि बाटो खोलिदिन बारम्बार अनुरोध गर्दा बोर्डले बेवास्ता गरेको आरोप एशोसिएसनले लगाएको छ।