काठमाडौं । उपत्यका भित्र ४३ स्थानमा ट्राफिक लाइट जडान भएका छन् । उपत्यकामा जडान भएको ट्राफिक लाइटमध्ये अधिकांश अहिले बल्दैन ।
एउटा सडकमा जडान भएको बत्ती नबल्दा चालकदेखि सडकमा खटिने ट्राफिक प्रहरीसम्मले हैरानी खेप्नु परेको छ । उपत्यकामा जडान भएका ३२ स्थानमा सडक विभागले र अन्य ११ स्थानमा निजी क्षेत्र ट्राफिक लाइट जडान गरिदिएको विभागको भनाइ छ ।
विभागका अनुसार अहिले उपत्यकामा जडान भएका १९ स्थानको बत्ती बलिरहेको छ । तर, २४ स्थानको बत्ती बलेको छैन । जडान भएको बत्ती नै चलाउन नसक्ने सडक विभाग अन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख बेलबहादुर भुजेलले प्रविधिक समस्या रहेको बताए ।
उनका अनुसार ट्राफिक लाइट जडान भएको धेरै समय भएकाले त्यसको सिस्टममा समस्या आएको हो । उक्त सिस्टम अपडेटका लागि छलफल भइरहेको भुजेल बताउँछन् ।
‘ट्राफिक लाइट बिग्रिराख्नुमा सिस्टमको समस्या हो, अब हामी नयाँ सिस्टम जडान गर्ने योजनामा छौँ, त्यसको लागि बजेट पाए, छिट्टै कार्यान्वयनमा जान्छौं,’ प्रमुख भुजेलले भने ।
विभागले बिग्रिएका ट्राफिक लाइट फेर्ने र नयाँ स्थानहरूमा थप गर्ने तयारी भइरहेको जनाएको छ । उक्त जडान हुने नयाँ ट्राफिक लाइटक ‘एडप्टेबल’ हुने भुजेलले बताए । अहिले लगाइएको लाइट कन्ट्रोल रुमबाट मात्र चलाउने खालको छ । अब जडान गरिने लाइट गाडीको लाइन अनुसार लाइट बल्ने हुन्छ ।
‘अहिले पनि लाइटको मुनि ट्राफिक बस्नु पर्ने अवस्था छ’
सडक सुरक्षाको जिम्मेवारी लिएर बसेको ट्राफिक प्रहरी पनि लाइटको समस्या र चाललको लापरवाहीबाट दिक्क भएको देखिन्छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता शंजीव शर्मा दास ट्राफिक लाइट व्यवस्थापनको काम विभागले नै गर्नु पर्ने बताउँछन् ।
सडकमा ट्राफिक लाइट बल्दासमेत चालकले त्यसको पालना गर्दैनन् । अहिले पनि लाइटको मुनि ट्राफिक बस्नु पर्ने अवस्था रहेको शर्मा बताउँछन् ।
बिहान र बेलुकाको व्यवस्थ अफिस समयमा सबै ट्राफिक लाइटको समय नमिल्दा समस्या हुने गरेको बताउँदै प्रवक्ता शर्मा भन्छन्, ‘हामीले बिग्रेका ट्राफिक लाइटको बारेमा लेखेर पठाएका छौं, बिग्रे पनि नबिग्रे पनि ट्राफिक अनिवार्य बस्नुपर्ने भएकाले, ट्राफिक लाइट मात्र समाधान हैन,’ दासले भने ।
उनका अनुसार ट्राफिक नियम सबैले मान्ने बानी नभएसम्म ट्राफिक लाइट राख्नु र ट्राफिक लाइटको मुनि ट्राफिक बस्नुको कुनै औचित्य छैन ।
कमिसनको चक्करमा हुँदैन मर्मत
सडक विभागले ट्राफिक लाइट जडान र मर्मतका लागि फरक फरक कम्पनीलाई ठेक्का दिँदा बारम्बार समस्या आउने गरेको जानकारहरू बताउँछन् ।
विभागले उपत्यकाका अधिकांश ट्राफिक लाइट जडान गर्न एउटा कम्पनी र मर्मत गर्न अर्को कम्पनीलाई ठेक्का दिँदै आएको छ । जडान गर्ने कम्पनीले नै मर्मत गर्दा समस्या कम हुने भए पनि आर्थिक प्रलोभन र चलखेलका लागि अर्को कम्पनीलाई मर्मतको ठेक्का दिने गरेको पाइन्छ ।
साथै, नियमित मर्मत सम्भार नगर्दा पनि बत्ती बिग्रिने गरेको एक प्राविधिकले बताए । ‘जुन कम्पनीले जडान गरेको हो, उसैलाई लाइटको प्रविधि र समस्याबारे बढी सबै थाहा हुन्छ,’ नाम नबताउने शर्तमा एक प्राविधिकले ‘तर, विभागले आर्थिक चलखेलका लागि अर्कै कम्पनीलाई मर्मतको ठेक्का दिने गरेको छ । जसले गर्दा सानोतिनो समस्या समाधान गर्न पनि हप्तौं लगाउने गरेका छन् ।’ जडान गर्ने कम्पनीलाई नै मर्मतको जिम्मा दिने हो भने अधिकांश बत्ती नियमित बल्ने उनको भनाइ छ ।
काठमाडौंको पदमोदय मोड (रामशाह पथ) लगायत स्थानमा जापानिज कम्पनीले जडान गरिदिएको गुणस्तरीय लाइट समेत मर्मत नगरी कमिशनका लागि चिम नै फेरेको ती प्राविधिकले बताए ।