काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । राष्ट्र बैंकसँगै अन्य बैंकले नयाँ नोट वितरण थालेपछि बिहानैदेखि बैंकहरूमा भीड लागेको छ ।
राष्ट्र बैंकले यसपाली नयाँ र एक पटक प्रयोग भइसकेको सुकिलो नोट बाँड्दैछ। राष्ट्र बैंकका अनुसार यो सुविधा असोज १०–१७ गतेसम्म उपलब्ध हुनेछ ।
एक व्यक्तिले साढे १८ हजारका नयाँ साट्न पाउने
राष्ट्र बैंकका अनुसार एक जना व्यक्तिले एक पटकमा साढे १८ हजार बराबरका नयाँ नोट साट्न पाउने छन् ।
एक जनाले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक/एक बण्डल गरि १८ हजार ५०० रुपैयाँसम्मका नयाँ नोट साट्न पाउने छन् । ५ सय र १ हजारका नयाँ नोट भने चाहे जति साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
कहाँ–कहाँबाट पाइन्छ ?
राष्ट्र बैंकका अनुसार मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, बीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडका उपत्यकास्थित कार्यालयबाट नोट सटही गर्न सकिने व्यवस्था गरिएको छ ।
उपत्यकाभित्र राष्ट्र बैंकका अतिरिक्त नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक लिमिटेडका शाखाबाट पनि सेवाग्राहीले नयाँ नोट सटहीको सुविधा लिन सक्नेछन् ।
उपत्यकामा नेपाल बैंक लिमिटेडका ७ वटा शाखाबाट नयाँ नोट वितरण गरिने व्यवस्था मिलाइएको छ । नेपाल बैंकका न्युरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट साट्न सकिन्छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजास्थित केन्द्रीय कार्यालयसँगै सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर , सानो थिमि, विशाल, बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट नयाँ नोट बाँड्न व्यवस्था मिलाइएको छ ।
त्यस्तै, कृषि विकास बैंकले उपत्यकाका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट साट्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले अघिल्ला वर्षहरूमा थापाथलीस्थित कार्यालयबाट नयाँ नोट बाँड्ने गरेको थियो । तर, यसपाली थापाथली कार्यालय बन्द भएकाले बालुवाटारबाट नयाँ नोट बाँड्ने व्यवस्था मिलाएको छ ।