विश्व बजारमा पेट्रोल : प्रतिलिटर २ रुपैयाँदेखि ३८० सम्म, कुन देशमा कति ?

काठमाडौं । नेपालमा पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढी रहेको छ । ४ महिना अघि रुस युक्रेन युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको थियो । पछिल्लो दुई महिना यता लगातार घटिरहेको छ । तर, नेपालमा भने बढ्दो क्रम जारी छ ।

अन्तर्राष्ट्रिय बजारमा बढ्दा नेपालमा पनि बढ्नु स्वभाविक भए पनि घट्दा भने नघट्नु अस्वभाविक हो । फेब्रुअरीमा विश्व बजारमा प्रतिब्यारेल १४० डलर पुगेको कच्चा तेलको भाउ अहिले १०० डलर हाराहारीमा आएको छ । तर, नेपालमा भने सो बेलाकोभन्दा पनि बढिरहेको छ ।

विश्वको तेस्रो तेल निर्याता देश रुसमाथि अमेरिका र पश्चिमी मुलुकहरुले आर्थिक नाकाबन्दी र तेल आयातमा प्रतिबन्ध लगाएसँगै तेलको भाउ आकाशिएको थियो । अहिले पनि सो नाकाबन्दी जारी छ ।

विश्वको तेस्रो ठूलो तेल निर्यात कर्ता रुसले विश्वमा कुल मागको ८ प्रतिशत तेलको आपूर्ति गर्छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा विश्वभर महँगी बढ्दो क्रममा छ । ढुवानी लागत बढ्दा कच्चा पदार्थदेखि अधिकांश उपभोग्य वस्तुको मूल्य बढेको छ । जसले समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पारिरहेको छ ।

पेट्रोलियम पदार्थ अत्यावश्यक उपभोग्य वस्तु हो । यसको उत्पादन नहुने देशले अन्यदेशबाट आयात गर्दै आएका छन् । विश्वभर इन्धनको मूल्य फरक फरक रहेको छ । उत्पादन लागत, ढुवानी, प्रशोधन खर्चका आधारमा यसको मूल्य ठाउँ अनुसार फरक हुने गरेको छ ।

पेट्रोलियम पदार्थ उत्पादन गर्ने देशहरुमा इन्धनको मूल्य तुलनात्मक रुपमा सस्तो रहेको छ भने उत्पादन नहुने नेपाल जस्ता मुलुकमा उच्च रहेको छ । तेस्रो मुलुकसँग किनएको तेलमा पनि सरकारले उच्च कर लगाउने हुनाले नेपालमा पनि तुलनात्मक रुपमा इन्धनको मूल्य उच्च छ ।

ठूलो मात्रामा उत्पादन गर्ने खाडी मुलुकहरु, रसिया लगायत देशमा तुलनात्मक रुपमा पेट्रोलियम पदार्थ सस्तो रहेको छ भने नेपाल, युरोपेली लगायत मुलुकमा महँगो रहेको छ ।

कुन देशमा कति पर्छ ?

पछिल्लो मूल्य सूची अनुसार विश्व बजारमा पेट्रोलको औसत मूल्य करिब १९० रुपैयाँ प्रतिलिटर छ । ग्लोबल पेट्रोल प्राइस डटकमका अुसार विश्वमा सबैभन्दा सस्तो पेट्रोल पाइने देश हो भेनेजुयला । भेनेजुयलामा प्रतिलिटर पेट्रोल ०.०२२ डलर अर्थात् नेपाली २.८० रुपैयाँ रहेको छ ।

भेनेजुयलापछि लिबिया सबैभन्दा सस्तोमा पेट्रोल पाइने दोस्रो देश हो । यहाँ प्रतिलिटर ०.०३१ डलर अर्थात् नेपाली ३.९१ रुपैयाँ रहेको छ ।

यस्तै, इरानमा प्रतिलिटर ०.०५३ डलर अर्थात् ६.७४ रुपैयाँ, सिरियामा प्रतिलिटर ०.२८६ डलर अर्थात् ३६.०९ रुपैयाँ, अल्जेरिया ०.३१४ डलर अर्थात् ३९.५९ रुपैयाँ, कुवेत ४२.१९ रुपैयाँ, एंगोलामा ४७.३३ रुपैयाँ प्रतिलिटर पेट्रोलको मूल्य रहेको छ ।

यस्तै, विश्वको सबैभन्दा ठूलो तेल उत्पादक साउदी अरेबियामा ७८.३९९ रुपैयाँ, दोस्रो ठूलो उत्पादक अमेरिकामा १.३२५ डलर अर्थात् १६७.३९ रुपैयाँ छ ।

विश्वमा पेट्रोलको सबैभन्दा महंगो मूल्य हङकङमा रहेको छ । हङकङमा प्रतिलिटर पेट्रोल ३.०२६ डलर अर्थात् ३८२.०७ रुपैयाँ मूल्य रहेको छ । यसैगरी, आइसल्याण्मा २.५८१ अर्थात् ३२५.८६७ रुपैयाँ, नर्वेमा २.५७६ डलर अर्थात ३२५.२१ रुपैयाँ प्रतिलिटर पेट्रोलको मूल्य पर्छ ।

विदेशी जुत्ताको दबदबा बढ्दै, निर्यातभन्दा ८ गुणा धेरै आयात Read Previous

विदेशी जुत्ताको दबदबा बढ्दै, निर्यातभन्दा ८ गुणा धेरै आयात

मौद्रिक नीतिका लागि रायसुझाव माग, इमेलबाट पठाउन सकिने Read Next

मौद्रिक नीतिका लागि रायसुझाव माग, इमेलबाट पठाउन सकिने