विदेशी जुत्ताको दबदबा बढ्दै, निर्यातभन्दा ८ गुणा धेरै आयात

काठमाडौं । मुलुक जुत्ताचप्पलमा आत्मनिर्भर भनिए पनि ठूलो मात्रामा आयात हुँदै आएको छ । जुत्ताचप्पलका उत्पादनका लागि कच्चा पदार्थ मात्र नभई तयारी जुत्ता नै ठूलो परिमाणमा आयात भइरहेको हो ।

आयातको क्रम पनि वर्षेनी बढ्दो रहेको छ । नेपाली उद्योगको क्षमता मागभन्दा धेरै उत्पादन गर्न सक्ने भए पनि विदेशी जुत्ताको आयात घट्नुको सट्टा झन् बढ्दै गएको छ । नेपाली उद्योगले वार्षिक १६ करोड जोर जुत्ताचप्पल उत्पादन गर्न सक्ने क्षमता भए पनि वार्षिक ५ करोड जोर मात्रै उत्पादन हुँदै आएको व्यवसायीहरु बताउँछन् ।

वार्षिक ९ करोड जोर जुत्ताको माग हुने भए पनि झन्डै आधा हिस्सा विदेशी जुत्ताले नै ओगटेको छ । चालु आर्थिक वर्षको ११ महिनामा (जेठसम्म) झण्डै ८ अर्बको जुत्ता आयात भएको छ । भन्सार विभागका अनुसार जेठसम्म कुल ७ अर्ब ९३ करोड ७७ लाख रुपैयाँ बराबरको जुत्ता आयात भएको छ । उक्त रकममा ४ करोड २८ लाख जोर जुत्ता आयात भएको हो ।

आयातको तुलनामा निर्यात भने निकै न्यून रहेको छ । निर्यातको तुलनामा आयात ८ गुणा धेरै रहेको छ । चालु आवमा जम्मा १ अर्ब ५ करोड रुपैयाँ बराबरको जुत्ता निर्यात भएको छ । उक्त रकममा ६१ लाख ८८ हजार जोर जुत्ता निर्यात भएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब ७७ करोड रुपैयाँ बराबर रकमको ४ करोड ११ लाख जोर जुत्ता आयात भएको थियो । उक्त आवमा ७९ करोड ५५ लाख रुपैयाँ बराबरको जुत्ता निर्यात भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा कुल ५ अर्ब ६९ करोड ८ लाख रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा कुल ७ अर्ब ८३ करोड ७६ लाख रुपैयाँ, आर्थिक वर्ष २०७४/७५ मा कुल ४ अर्ब २७ करोड १५ लाख रुपैयाँ बराबरको जुत्ता चप्पल तथा कच्चा पदार्थ आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

आर्थिक वर्ष ७३/७४ मा कुल ३ अर्ब ४४ करोड ४१ लाख रुपैयाँ बराबरको जुत्ता चप्पल आयात भएको थियो ।

‘फूटवेयर क्षेत्र सरकारको प्राथमिकताबाट टाढा छ’

राज्यले जुत्ता उत्पादनमा आत्मनिर्भरताका लागि कुनै टेवा पुर्याउन सक्ने काम गरेको देखिँदैन । सरकारको तर्फबाट नीतिगत रुपमा केही निर्णयहरू आए त्यसले नेपालको जुत्ता उद्योगलाई माथि लागेर आत्मनिर्भरतर्फ डोर्याउने व्यवसायीहरू बताउँछन् ।

व्यवसायीहरू जुत्ता उत्पादन उद्योगहरू सधैं सरकारको प्राथमिकताबाट टाढा रहेको फूटवेयर एशोसियसनका उपाध्यक्ष नानिराज घिमिरे बताउँछन् । फूटवेयर क्षेत्रमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु पर्ने र यसमा सरकारले लगानी सुनिश्चित्ता गर्नुपर्ने उनी बताउँछन् ।

उनका अनुसार पछिल्लो समय जुत्ताको अफ सिजन रहेकोले हाल उत्पादन र माग दुवै कम रहेको छ । भदौदेखि फेरि जुत्ताको माग बढ्ने र उत्पादन पनि त्यसै अनुसार बढ्ने गरेको उनले बताए ।

‘अहिले जुत्ताको अफ सिजन हो त्यसैले उत्पादन अलि कम छ, भदौदेखि सिजन सुरू हुन्छ, त्यसपछि सबै उद्योगले उत्पादन बढाउँछन्,’ घिमिरेले भने । उनका अनुसार मान्छेहरूले ब्राण्डेड जुत्ता खोज्ने हुँदै त्यसै अनुसार नेपाली जुत्ताको उत्पादन र निर्यात पनि बढ्दै गएको छ ।

कोभिडको असरका कारण ५० प्रतिशत मात्र सञ्चालनमा आएको जुत्ता उद्योग हाल पुरानै अवस्था फर्किने क्रममा रहेको उनले बताए । फूटवेयर क्षेत्रमा ३० अर्ब रुपैयाँ बढी लगानी रहेको छ । यस क्षेत्रमा १५ सय बढी उद्योगहरू रहेका छन् । सो उद्योगमा १० हजार बढी कामदारहरूले प्रत्यक्ष काम गर्दै आएका थिए ।

७ वर्षमा पनि बनेन ढोलाहिटी-लेले सडक, यात्रुलाई सधैं सास्ती Read Previous

७ वर्षमा पनि बनेन ढोलाहिटी-लेले सडक, यात्रुलाई सधैं सास्ती

विश्व बजारमा पेट्रोल : प्रतिलिटर २ रुपैयाँदेखि ३८० सम्म, कुन देशमा कति ? Read Next

विश्व बजारमा पेट्रोल : प्रतिलिटर २ रुपैयाँदेखि ३८० सम्म, कुन देशमा कति ?