खानामा सौखिन नेपाली, विदेशबाट ल्याएर खाए १.३० अर्बको ‘सी फूड’

काठमाडौं । नेपाल खाद्यान्नमा परनिर्भर रहेको छ । दैनिक उपभोग्य वस्तु दाल, चामल, गहुँ, मकै लगायत खाद्यान्नमा विदेशकै भरमा रहेको छ । वर्षेनी ३ खर्ब बढीको खाद्यान्न आयात हुँदै आएको छ ।

यस्तै, माछा तथा मासु समेत विदेशबाटै आयात हुने गरेको छ । यद्यपि, पछिल्लो समय भने स्वदेशी उत्पादनले नै ९० प्रतिशतभन्दा बढी माग धानिरहेको छ । सरकारले माछा मासुमा देश आत्मनिर्भर भएको घोषणा गरे पनि मासुजन्य वस्तुको आयात भने रोकिएको छैन ।

माछा मासु स्वास्थ्याका लागि पनि राम्रो मानिन्छ । शरिरलाई स्वस्थ्य बनाउन र आवश्यक पौष्टिक तत्व प्राप्तिका लागि माछामासु खाने चलन छ । कतिपय अवस्थामा डाक्टरहरुले समेत माछामासु खाना सल्लाह दिँदै आएका छन् ।

नेपालमा धेरै जसो राँगा, खसीबोका, कुखुराको मासु खपत हुन्छ । तर, पछिल्लो समय नेपालमा उत्पादन नै नहुने सामुन्द्रिक खाना (सी फूड)को पनि खपत हुन थालेको छ । समुन्द्रमा पाइने विभिन्न जीवहरुको मासु नेपालमा पनि आयात हुन थालेको हो ।

सामुद्य्कि देशहरुमा मुख्य खानाका रुपमा रहेका गंगटा, अक्टोपस, प्राउन, श्रीम, सालमोन, लबस्टर लगायत सामुन्द्रिक माछाहरु नेपाल आयात भएका छन् । महँगा मानिने यी सामुन्द्रिक खानाहरु नेपालका होटल तथा रेष्टुरेन्टहरुमा खपत हुने गरेको बताइन्छ ।

चालु आर्थिक वर्षको ११ महिना (जेठसम्म) नेपालमा सवा १ अर्ब बढीको सामुद्रिक खाना आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सो अवधिमा १ अर्ब ३० करोड रुपैयाँ बराबरको माछा तथा सामुन्द्रिक खाना आयात भएको हो । सो रकममा ४८ लाख ४७ हजार केजी सामुन्द्रिक माछा आयात भएको हो ।

सो रकममा विभिन्न प्रजातिका माछा, गंगटा, अक्टोपस, प्राउन, श्रीम, सालमोन, लबस्टर लगायत सामुन्द्रिक माछाहरु नेपाल आयात भएको छ । नेपालमा भारत, नर्वे, डेनमार्क, भेतनाम, मलेसिया, बंगलादेश, हङकङ, जापानबाट आयात हुने गरेको विभागको तथ्यांकले देखाएको छ ।

चालु आवको जेठसम्मा ५५ करोड २० हजार रुपैयाँ बराबरको क्र्याब (गंगटा) आयात भएको छ । त्यसैगरी, ३ करोड ७४ लाख रुपैयाँ बराबरको सालमोन फिस, २८ करोड ७५ लाख रुपैयाँ बराबरको क्याट फिस, ४ करोड ६७ लाख ९२ हजार रुपैयाँ बराबरको प्राउन आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

त्यस्तै, ४२ लाख ८४ हजार रुपैयाँ बराबरको टुनास फिस, ८४ हजार रुपैयाँ बराबरको अक्टोपस, ८० लाख ७१ हजार रुपैयाँ बराबरको जिउँदा माछा आयात भएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा १ अर्ब ५७ करोड रुपैयाँ बराबरको माछा तथा अन्य सामुन्द्रिक वस्तु आयात भएको थियो । गत आर्थिक वर्षमा ८९ करोड ५२ लाख रुपैयाँ बराबरको माछा बाहेकका सामुन्द्रि खानेकुराहरु आयात भएको थियो ।

माछाको आयात घट्दै गए पनि माछा बाहेक अन्य सामुन्द्रिक वस्तुको आयात प्रत्येक वर्ष बढ्दै गइरहेको छ । नेपालबाट अत्यावश्यक भन्दा पनि विलासितातर्फ धेरै रकम बाहिरि रहेको देखिन्छ । हाल नेपाल माछा उत्पादनका लागि आत्मनिर्भर भएको सरकारले घोषणा गरेको छ ।

 

काठमाडौंको सडकमा जलयात्राको झल्को ! Read Previous

काठमाडौंको सडकमा जलयात्राको झल्को !

अर्थमन्त्रीको राजीनामाले लगानीकर्ता भएनन् उत्साहित, नेप्सेमा दोहोरो अंकको गिरावट Read Next

अर्थमन्त्रीको राजीनामाले लगानीकर्ता भएनन् उत्साहित, नेप्सेमा दोहोरो अंकको गिरावट