ईभीमा चिनियाँ कम्पनीको वर्चश्व बढ्दै, टेस्लालाई उछिन्दै बीवाइडी बन्यो विश्वमै धेरै कार बेच्ने कम्पनी

काठमाडौं । विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो क्रममा छ । अमेरिकी, युरोपेली केही देशहरूले पेट्राेलियम गाडी विस्थापित गर्ने समय सीमा तोक्दै विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गरिरहेका छन् ।

विश्वका अधिकांश देशहरूले विद्युतीय गाडीको प्रयोग बढाउन कार खरिदमा सहुलियत समेत दिएका छन् । विश्वव्यापी विद्युतीय गाडीको बढ्दो प्रयोगको प्रभाव नेपाली बजारमा पनि क्रमशः देखिन थालेको छ । नेपालमा पनि वर्षेनी विद्युतीय गाडीको आयात बढ्दो छ । चालु आवको जेठसम्म १७०० बढी विद्युतीय गाडी आयात भइसकेका छन् ।

विश्वभर बढ्दो प्रयोगलाई मध्येनजर गर्दै नयाँ विद्युतीय गाडी कम्पनी आउने क्रम बढ्दो छ भने ग्यासाेलिन गाडी उत्पादन गर्दै आएका कम्पनीहरू पनि विद्युतीय गाडी निर्माणमा लागेका छन् ।

पछिल्लो केही वर्ष यता विद्युतीय गाडीमा विश्वकै धनाढ्य एलन मस्कको कम्पनी टेस्लाको वर्चश्व रहँदै आएको छ । विद्युतीय कार उत्पादन तथा विक्रीमा अमेरिकी कम्पनी टेस्लाको अधिपत्य कायमै थियो । तर, पछिल्लो तथ्यांक अनुसार चिनियाँ कम्पनी बीवाइडीले टेस्लालाई टक्कर दिएको छ ।

कार विक्रीमा त बीवाइडीले टेस्लालाई उछिन्न सफल भएको छ । अमेरिकी अर्बपति वारेन बफेटको बर्कशायर ह्याथवेको समेत लगानी रहेको चिनियाँ अटो निर्माता बीवाइडीले विक्रीको आधारमा एलोन मस्कको टेस्लालाई उछिनेको छ ।

बीवाइडीको विक्रीले विद्युतिय वाहनको क्षेत्रमा चीनको प्रभुत्वलाई संकेत गर्छ । शेन्जेनमा मुख्यालय रहेको बीवाइडीले यो वर्ष (सन् २०२२)को पहिलो ६ महिनामा ६ लाख ४१ हजार सवारी साधनहरू विक्री गर्यो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०० प्रतिशतले बढी हो ।

बीवाइडीले चालु आवमा विक्री गरेको कारको संख्या अमेरिकी कम्पनी टेस्लाकोभन्दा ९६ हजार बढी हो । टेस्लाले यो अवधिमा ५ लाख ४६ हजार सवारी साधन मात्र बेच्न सक्यो । कम्पनीले आफ्नो विक्री खस्कनुमा विश्वव्यापी आपूर्ति श्रृंखलामा देखिएको समस्या र चीनमा रहेका निर्माणस्थलमा कोभिडका कारण निर्माण प्रभावित हुनुलाई दोष देखाएको छ ।

बीवाइडीका धेरै मोडेलहरू प्लग–इन हाइब्रिड सवारी साधनहरू हुन् । तिनमा लामो यात्राको लागि परम्परागत इन्जिनको अतिरिक्त ठूलो ब्याट्री प्रयोग गरिएको हुन्छ । तथापि चीनको विक्री नियमहरू अन्तर्गत तिनलाई पनि ‘शून्य उत्सर्जन’ सवारी साधनहरूको रूपमा गणना गरिन्छ ।

बीवाइडीले विद्युतीय वाहन मात्र बनाउँदै विद्युतीय कारमा प्रयोग हुने ब्याटरी पनि बताउँछ । यो वर्ष उसले दक्षिण कोरियाको एलजीलाई उछिनेर विश्वको दोस्रो ठूलो विद्युतीय वाहनको ब्याट्री निर्माता बनेको छ ।बीवाइडीअघि चीनकै चीनाज कन्टेम्परोररी एमपेरेक्स टेक्नोलोजी अगाडि छ ।

विश्लेषकहरूले चीनको घरेलु अटो उद्योगको वृद्धिलाई विश्वव्यापी अटो बजारमा आईरहेको परिवर्तनका सम्बाहकका रूपमा हेर्छन् । किनभने चिनियाँ ईभी निर्माताहरूले विस्तारै निर्यात बजारमा आफ्नो ध्यान केन्द्रीत गर्न थालेका छन् ।

गत वर्ष विश्वको सबैभन्दा ठूलो कार बजार चीनले आधा मिलियनभन्दा बढी विद्युतीय सवारीसाधन निर्यात गरेको थियो, जुन अघिल्लो वर्षको सङ्ख्याभन्दा दोब्बर हो । यद्यपि युरोपमा चीनको निर्यातको करिब एक तिहाइ चिनियाँ स्वामित्वमा रहेका युरोपेली ब्रान्डहरू भोल्भो कार र एमजी मोटरहरू थिए । जम्मा २ प्रतिशत कार। मात्र चिनियाँ ब्रान्डहरू थिए । लगभग आधा टेस्लाका गाडी थिए भने बाँकी १४ प्रतिशत चीनमा युरोपेली संयुक्त उद्यमबाट बनेका कार थिए।

तर केही समयपछि बीवाइडीजस्ता चिनियाँ कम्पनीले विदेशी अटोमेकरहरूलाई उनीहरूको गृह मैदानमा, विशेष गरी अमेरिकामा चुनौती दिने अपेक्षा गर्न थालिएको छ । एजेन्सीको सहयोगमा

अप्पर सोलु हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

अप्पर सोलु हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन

निजी क्षेत्रका समस्या समाधान गर्न मोरङ व्यापार संघको माग Read Next

निजी क्षेत्रका समस्या समाधान गर्न मोरङ व्यापार संघको माग