काठमाडौं । वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले इन्धन शुल्क (फ्युल सरचार्ज)वृद्धि गरेका हुन् ।फ्युल सरचार्ज बढेपछि हवाई भाडा पनि स्वतः बढेको हो ।
निगमले आइतबार रातिदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको थियो । हवाई सेवा प्रदायकहरुले पनि सोही आधारमा फ्युल सरचार्ज बढाएका हुन् ।
नेपाल वायु सेवा सञ्चालक सङ्घले बिहीबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । हवाई भाडा न्यूनतम ४५ रुपैयाँदेखि २२० रुपैयाँसम्म वृद्धि भएको छ ।
माउन्टेन फ्लाइटको भाडादर १४ हजार ७२० रुपैयाँ कायम भएको सङ्घले जनाएको छ । सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौं-धनगढीको भाडा २२० रुपैयाँ बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौं-धनगढी १७ हजार २५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, काठमाडौं-भद्रपुरको हवाई भाडादर १५० रुपैयाँ बढेर १२ हजार ९५५ रुपैयाँ, काठमाडौं-विराटनगरको भाडादर १२५ रुपैयाँले बढेर १० हजार २०५ रुपैयाँ, काठमाडौं-जनकपुरको ६५ रुपैयाँ बढेर ५ हजार ८६० रुपैयाँ, काठमाडौं-भरतपुरको ५५ रुपैयाँले बढेर ४ हजार ९९० रुपैयाँ पुगेको छ।
यस्तै, काठमाडौं-सुर्खेतको १७० रुपैयाँ बढेर १४ हजार ९९५ रुपैयाँ, काठमाडौं-पोखराको भाडादर ८० रुपैयाँ बढेर ६ हजार ९८५ रुपैयाँ, काठमाडौं-भैरहवाको १०० रुपैयाँ बढेर ८ हजार ६७५ रुपैयाँ, काठमाडौं-नेपालगञ्जको १६५ रुपैयाँ बढेर १३ हजार ९८० रुपैयाँ, काठमाडौं-तुम्लिङटारको ९५ रुपैयाँ बढेर ८ हजार २०५ रुपैयाँ, काठमाडौं-सिमराको ४५ रुपैयाँ बढेर ४ हजार २४० रुपैयाँ पुगेको छ।