काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा घोषणा गरेका छन् ।बुधबार संघीय संसदको प्रतिनिधी सभा बैठकको विशेष समयमा बोल्दै उनले पदबाट राजीनामा घोषणा गरेका हुन् ।
उनले आफूमाथि छानबिन गर्न संसदीय समिति गठन गरेकोमा स्वागत गर्दै समितिलाई अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यवाद दिन्छु,’ शर्माले भने, ‘यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्दछु।’
उनले बजेट बनाउँदा आफूले कुनै गल्ती नगरेको पनि बताए । ‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु,’ उनले भने ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अवैधानिक व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरेको भन्दै चौतर्फी रुपमा उनको राजीनामा माग्दै आइएको थियो ।
आज मात्रै सत्तारुढ र प्रतिपक्षी दल बीच उनीमाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको थियो । सो लगत्तै उनले संसदबाटै आफ्नो पदबाट राजीनामा घोषणा गरेका हुन् ।
११ सदस्यीय संसदीय छानबिन समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट २/२ सांसद सदस्य रहनेछन्। यस्तै नेकपा एकीकृत समाजवादी, जसपा र लोसपाबाट १/१ जना सांसद सदस्य रहने सहमति भएको छ ।