अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय छानबिन समिति बन्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन हुने भएको छ ।

आज बानेश्वरस्थित संघीय संसद भवनमा भएको सत्तारूढ र प्रतिपक्षी दलहरू बीच भएको छलफल अनुसार ११ सदस्यीय संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको हो ।

११ सदस्यीय संसदीय छानबिन समितिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट २/२ सांसद सदस्य रहनेछन्। यस्तै नेकपा एकीकृत समाजवादी, जसपा र लोसपाबाट १/१ जना सांसद सदस्य रहने सहमति भएको छ ।

अर्थमन्त्री शर्मा माथि बजेट निर्माणका बेला अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करको दर हेरफेर गरेको आरोप लागेको छ । साथै, सीमित व्यवसायीको प्रभावमा परी नीतिगत भ्रष्टाचार गरेको, बजेट निर्माणको बेलाको सीसीटीभी फुटेज डिलिट गरेको लगायत आरोप लागेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालले आज शर्मामाथि छानबिन समिति गठनको माग गर्दै संसद समेत अवरुद्ध गरेको थियो । साथै, एमालले अर्थमन्त्रीको राजीनामा समेत माग्दै आएको छ ।

अर्थमन्त्री शर्माको राजीनामा माग्दै चौतर्फी आलोचना भए पनि उनी अटेर गर्दै आएका छन् । सत्तारुढ दलकै सांसदले समेत उनले राजीनामा दिनुपर्ने बताएका छन् ।

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

टाट पल्टिँदै आयल निगम : ५० अर्ब घाटामा, ३० अर्ब उधारो तिर्न बाँकी Read Next

टाट पल्टिँदै आयल निगम : ५० अर्ब घाटामा, ३० अर्ब उधारो तिर्न बाँकी