काठमाडौं । देशको अर्थतन्त्र महिनैपिच्छे झन्झन् ओरालो लागिरहेको छ । बढ्दो व्यापार घाटा, शोधान्तर घाटा, चालु खाता घाटा, घट्दो विदेशी विनिमय संचिति लगायत अर्थतन्त्रका मुख्य सूचकहरु नकारात्मक दिशा उन्नमुख छ ।
घट्दो डलर संचितिका कारण मुलुक श्रीलंकाकै हालतमा पुग्ने त होइन संशय र शंका उत्पन्न भइरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अब ६ महिनाको आयाता धान्ने डलर मात्रै संचिति रहेको छ ।
एकातिर डलर संचिति घट्दै गइरहेको छ भने अर्कोतर्फ व्यापार घाटाको ग्राफ ह्वात्तै उकालो लागेको छ । चालु आर्थिक वर्षमा व्यापार घाटाले नयाँ कीर्तिमान बनाएको छ । चालु आवको ११ महिना (साउन जेठ)सम्म झन्डै १६ खर्ब व्यापार घाटा भइसकेको छ ।
यस अवधिमा १७ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा १ खर्ब ८५ अर्ब रुपैयाँको मात्र वस्तु निर्यात भएको छ । आयात निर्यात अनुपात १ः९.५ अर्थात् ९.५ रुपैयाँको वस्तु आयात हुँदा जम्मा १ रुपैयाँको मात्र वस्तु निर्यात भएको छ ।
पछिल्लो सयम राष्ट्र बैंकले व्यापार घाटा घटाउन भन्दै विभिन्न वस्तुको आयातमा कडाई गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन । विलासी र मँहगा वस्तुको अधिक आयातले मुलुकको व्यापार घाटा अस्वभाविक रुपमा बढेको हो ।
अत्यावश्यक बाहेकका वस्तु आयात रोकी व्यापार घाटा कम गर्नुका साथै डलर संचिति बढाउन सकिने भए पनि सरकारले ठोस नीति तथा कार्यक्रम ल्याउन सकेको छैन । स्वदेशमै उत्पादन हुने वस्तुको उत्पादन बढाउन सकेमात्रै विदेशी वस्तुको प्रतिस्थापन गर्न सकिन्छ ।
यी वस्तुको आयात रोकेर घटाउन सकिन्छ डेढ खर्ब व्यापार घाटा
नेपालमै उत्पादन हुने र केही समय आयात नगरे पनि फरक नपर्ने वस्तुहरुको आयात रोक्न सके मात्रै झन्डै डेढ खर्ब व्यापार घाटा घटाउन सकिने देखिन्छ । नेपालमै उत्पादन हुने माछा–मासु, दुग्धजन्य वस्तु, जङक फुड, रक्सी, फलफूल, मसला जन्यवस्तु लगायतको आयात रोके उक्त रकम बराबरको व्यापार घाटा घटाउन सकिन्छ ।
चालु आर्थिक वर्षको ११ महिनामा ३ अर्ब ७ करोड रुपैयाँ बढीको माछा, मासु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।चकलेट, चुइगम, बिस्कुट लगायतका जङक फुडहरुको आयात समेत तत्कालका लागि रोक्न सकिन्छ । तत्काल चकलेट विस्तुट, चुइगम जस्तु वस्तुको आयातमा रोक्दा नेपालबाट बाहिरिने ११ अर्ब रुपैयाँ देशमै रहने छ । चालु आर्थिक वर्षमा यस्त जङक फुड आयातका क्रममा ११ अर्ब ३५ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो ।
हालका लागि फलफूल आयात रोके पनि फरक नपर्ने देखिन्छ । नेपालमै उत्पादन हुने फलफूललाई बजारसम्म ल्याउन सरकारले केही नीति ल्याएर ढुवानीमा सहजता सृजना गरे यो सम्भव छ । चालु आर्थिक वर्षको ११ महिनामा २२ अर्ब ७७ करोड रुपैयाँ बढीको फलफूल आयात भएको छ ।
तरकारीहरु मध्ये हरिया तरकारीहरु हाललाई आयात रोके पनि फरक नपर्ने देखिन्छ । चालु आर्थिक वर्षको यो अवधिमा ३४ अर्ब १५ करोड रुपैयाँ बढीको तरकारी आयात भएको छ ।
कोदोदेखि मकैका च्याँख्ला र त्यसका भुष समेत आयात भइरहेको अवस्थामा चामल, दाल बाहेकका खाद्य वस्तु आयात बाहेकका वस्तुमा रोक लगाउन सकिन्छ । मकै, कोदो, गहुँ, च्याखला लगायतका खाद्य वस्तु आयातका क्रममा चालु आवमा मात्र ७२ अर्ब ५२ करोड रुपैयाँ देशबाट बाहिरिएको छ ।
सरकारले दुग्ध क्षेत्रमा आफूलाई आत्मनिभर भएको घोषणा गरिरहेको अवस्थामा दुग्धजन्य वस्तु आयातमा समेत रोक लगाउदा कुनै आपति नपर्दा भन्न सकिन्छ । चालु आवमा १ अर्ब ९२ करोड रुपैयाँ बराबरको दुग्ध जन्य वस्तु आयात भएको छ । देशभर वार्षिक ५ करोड लिटर (३ हजार मेट्रिकटन) दुध खपत हुने गरेको छ । सामान्य समयमा देशभरबाट १ हजार देखि १५ सय मेट्रिकटनसम्म दुध उत्पादन हुन्छ ।
यस्तै चालु आवको ११ महिनामा ४४ करोड ७४ लाख रुपैयाको रक्सी तथा बियर आयात भएको छ । सरकारले हालको अवस्थालाई मध्य नजर गरेर बियर, रक्सी लगायतका वस्तुको आयात घटाउदा कुनै नोक्सानी नहुने देखिन्छ ।
नेपालमै चिया, कफी उतपादन भइरहेको अवस्थामा चालु आर्थिक वर्षमा मात्र १९ करोड ५६ लाख रुपैयाँको चिया तथा कफी आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपाल व्यावसायिक चिया खेती सर्वेक्षणले वार्षिक २ करोड २२ लाख ४० हजार किलो चिया उत्पादन भएको देखाएको छ । नेपालमा ३२ जिल्लामा व्यावसायिक कफी खेती हुने गरेको केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षणले देखाएको छ । ती जिल्लाबाट वार्षिक १५ सय ७३ मेट्रिक टन कफी उत्पादन भएको सर्वेक्षणले देखाएको छ ।
सुगर क्यूब, सुगर फ्रि सु्गर भन्दै धेरै तरिकारले चिनीको आयात हुँदै आएको छ । चालु आर्थिक वर्षमा ५ अर्ब ४२ करोड रुपैयाँ बढीको चिनी आयात भएको छ । यसको आयातलाई सरकारले रोक्न सके नेपालमै उत्पादन हुने चिनीले बजार पाउने र किसानले समेत यसबाट केही आमदानी गर्न सक्ने देखिन्छ ।
तरकारीमा हाल्ने, धनिया, जिरा, तेजपत्ता, रातो खुर्सानी, अधुवा, ल्वाङ, सुकुमेल लगायतका मसला जन्य वस्तुहरुको आयात समेत रोकियो भने हालको अवस्थामा धेरै फरक पर्ने देखिदैन । देशमा चालु आवमा ८ अर्ब २५ करोड रुपैयाँ बराबरको यस्ता मसला जन्य वस्तुहरु आयात भएको छ ।
माथि उल्लेखी वस्तुहरुको आयात रोक्दा सरकारले वर्षेनी देशबाट बाहिर पठाउने १ खर्ब ८३ अर्ब २८ करोड रुपैयाँ देशबाट बाहिर जानबाट बच्ने छ । यसले सरकारले बेहोरी रहेको १६ खर्बको बजेट घाटालाई घटाउन मदत पुर्याउने छ ।
तर, सरकारले आयात बन्द गर्नु अगाडि आवश्यक वस्तुहरु भने बजारसम्म पुर्याउनलाई छुट्टै भूमिका खेल्नु पर्ने हुन्छ । देशमै उत्पादन हुने वस्तुहरु बजारसम्म पुर्याउन सहजीकरण गर्नुपर्ने हुन्छ ।