काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ ।
साेमबार राति १२ बजेदेखि लागुहुनेगरी पेट्रोल,डिजेल,मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि गरेकाे हाे । निगमले भारतीय आयाल निगमले पठाएकाे नयाँ मूल्य सूचि अनुसार समायाेजन गरेकाे जनाएको छ ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मटितेलमा प्रतिलिटर ९/९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको हाे ।
याेसंगै प्रतिलिटर पेट्रोलकाे १ सय ८१ रुपैयाँ, डिजेल र मटितेल १ सय ७२/१ सय ७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १ सय ९० रुपैयाँ पुगेकाे छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने निगमले यथावत राखेको छ । एकसात अघि मात्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पत्रकार सम्मेलन मार्फत पेट्रोलियम पदार्थको मूल्य घटाएका थिए ।
सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियाे । अन्तर्राष्ट्रिय रूपमा इन्धनको मूल्यमा व्यापक वृद्धि भएपछि आयाल निगम टाट पल्टिने अवस्थामा पुगेकाे छ ।
हाल भारतीय आयाल निगमलाई नेपाल आयाल निगमले ३० अर्ब रूपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।
बढ्दाे मूल्यवृद्धि र इन्धन खपत घटाउन निगमले सरकारसँग विभिन्न प्रस्तावहरू गरेकाे छ । निगमले सवारीसाधनलाई काेटा प्रणाली अनुसार तेल वितरणकाे प्रस्ताव गरेकाे छ ।