काठमाडौं । नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकास योजना अन्तर्गत कार्यालय तथा संघ–संस्थाहरुले आफ्ना कर्मचारीहरुका निम्ति कोषमा जम्मा गर्ने रकम अब एनसीएचएलका सदस्य बैंक वित्तीय संस्थाका कुनै पनि बैंक शाखाहरु वा कर्पोरेट पे प्रणाली मार्फत गर्न सकिने गरी सेवाको थालनी गरेको छ ।
योजनाअन्तर्गत संघ–संस्थाहरुले संयुक्त रुपमा आफ्ना कर्मचारीहरुको विवरण दाखिला गरी कोषको ई–सर्भिस पोर्टलमार्फत सब्मिसन नम्बर तथा अफिस कोड प्राप्त गरी अनलाइनबाट भुक्तानी गर्न सकिनेछ ।
यसरी २० लाख रुपैयाँसम्मको रकम रियल टाइममा र सोभन्दा माथि २० करोड रुपैयाँसम्मको रकम नन्–रियलटाइममा जम्मा गर्न सकिने कोषले जनाएको छ ।
बैंक वित्तीय संस्थाका संस्थागत ग्राहकहरुले आवश्यक विवरण उपलब्ध गराई बैंक वित्तीय संस्था मार्फत सो रकम जम्मा गर्न सक्दछन् । संघ–संस्था आफैंले पनि कर्पोरेट पेमार्फत उक्त भुक्तानी खाताबाटै गर्न सकिन्छ।
संस्थागत ग्राहकहरुले https://corporatepay.connectips.com मा लग–इन गरी सर्भिस पेमेन्ट भित्र रहेको गोभर्मेन्ट पेमेन्ट अन्तर्गत सीआईटी फाँटवरीमा सब्मिसन नम्बर तथा अफिस कोड दाखिला गरी कर्पोरेट पेमा लिन्क गरिएको आफ्नो खाताबाट भुक्तानी गर्न सक्दछन् ।
बैंक शाखा तथा कर्पोरेट पेमार्फत नागरिक लगानी कोषको अवकाश कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका ३ लाख भन्दा बढी ग्राहकहरुलाई सुविधा हुनुका साथै कोषलाई स्वचालित रुपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।