उपत्यकाका तीन फ्लाईओभरको बन्यो डिजाइन

काठमाडौं । उपत्यकामा बन्ने तीन वटा फ्लाईओभरको डिजाइन पुरा भएको छ । ललितपुरको सातदोबाटो, एकान्तकुना र ग्वार्कोमा बन्न लागेको फ्लाईओभरहरुको डिजाइन सम्पन्न भएको हो ।

सडक विभाग अन्तर्गत रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजन इन्जीनीयर सौरभ बज्रचार्यले तीन वटै फ्लाईओभरको डिजाइन बनिसकेको बताए ।

ग्वार्को फ्लाईओभर निर्माणका लागि डिजाइनमा छलफल अघि बढेको उनले बताए । उक्त फ्लाईओभरको निर्माण भदौ भित्र सुरु हुने उनले जानकारी दिए ।

यस्तै,उनले सातदोबाटो र एकान्तकुनामा बन्ने फ्लाईओभरको डिजाइन तयार भए पनि त्यसको बजेट अझै सुनिश्चित हुन नसकेको बताए । यी दुई फ्लाईओभर निर्माणका लागि बजेट माग गरिए पनि उक्त बजेट प्राप्त हुन नसकेको उनले बताए ।

‘तीन वटै फ्लाईओभरको डिजाइन बनिसकेको छ, ग्वार्को फ्लाईओभरको निर्माण भदौबाट सुरु हुन्छ होला, अरु दुई वटाको निर्माण सुरु गर्न बजेट छैन,’ बज्रचार्यले चाणक्यपोष्टसँग भने ।

४ लेनको बन्ने लागेका यी फ्लाईओभर निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा १ अर्ब ३४ करोड रुपैयाँ बजेट माग गरिएको उनले जानकारी दिए । बजेट सुनिश्चित हुना साथ उक्त दुबै फ्लाईओभरको ठेक्का प्रकृया अघि बढाइने उनले बताए ।

बजेट सुनिश्चित नभएका कारण सातदोबाटो र एकान्तकुनामा बन्ने फ्लाईओभरको ठेक्का प्रकृया अघि बढ्न नसकेको उनले बताए । बजेट आएपछि ठेक्का प्रकृयाका लागि ४÷५ महिना लाग्ने उनले बताए । ठेक्का टुंगो लागेपछि निर्माण व्यवसायी फिल्डमा मोबीलाइज हुन ६ महिना लाग्ने उनले बताए ।

ग्वार्कोमा बनाइने भनेको फ्लाईओभरका लागि भने निर्माण कम्पनी छनोट भइसकेको छ । २ वर्षभित्र निर्माण सम्पन्न हुने गरी एम÷एस आशिष–समानान्तर जेभीले ठेक्का पाएको हो ।

कुन फ्लाईओभर कस्तो ?

१७ करोड ६ लाख रुपैयाँमा बन्ने ग्वार्को फ्लाईओभरको लम्बाई साढे ४ किलोमिटर हुनेछ । सडकको बीचबाट पोल राखेर निमार्ण गरिने सो फ्लाईओभरको उचाई ४.७५ मिटर भन्दा माथि हुने डिजाइन बनाइएको छ ।

रिङरोडमा हुने लिङ्क रोड फ्लाईओभर मुनिबाट गाडी गुड्ने छन् भने मुख्य रिङरोडमा गुड्ने सवारी साधन माथीबाट गुड्ने छन् । जसले सडकमा हुने जामलाई धेरै कम गर्ने अनुमान गरिएको छ ।

यसैगरी, एकान्तकुनमा निमार्ण हुने फ्लाईओभरको ल्म्बाइ साढे ३०० मिटर हुनेछ । नख्खुबाट आउने गाडी तलबाट जाने र रिङरोडमा गुड्ने गाडी फ्लाईओभर माथि भएर गुड्ने छन् ।

सातदोबाटोको फ्लाईओभरमा भने रिङरोडमा गुड्ने गाडी फ्लाईओभर मुनिबाट भएर गुड्ने छन् । ४५० मिटर लम्बाई रहेने यो फ्लाईओभरको उचाई ४.७५ मिटर भन्दा अग्लो हुनेछ ।

सेयर बजार ७२ अंक बढ्यो, यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट Read Previous

सेयर बजार ७२ अंक बढ्यो, यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट

बैंकिङ प्रणालीमा तरलता अभावः कहाँ गइरहेको छ पैसा ? Read Next

बैंकिङ प्रणालीमा तरलता अभावः कहाँ गइरहेको छ पैसा ?