
काठमाडौं । नेपालमा सर्वाधिक चल्तीका दुई विषय यहाँ चर्चा गर्न खोजिएको छ । एउटा समाजवादी चिन्तन र अर्को राष्ट्रवादी नारा । हामीले विगत २० वर्षदेखि सुन्दै आएको यी दुबै शब्द आर्थिक विकास विना असम्भव कुरा हुन् ।
विक्रम सम्बत २०५९ सालमा चाणक्य मासिकको सुरुवात गर्दा देशमा शसस्त्र युद्ध चलिरहेको थियो । समाजवादी चिन्तन बोकेको काँग्रेस र उस्तै लहडमा हिडेको नेकपा एमाले मुख्य राजनीतिक दल थिए ।
उनीहरुको राजनीतिक दर्शन र त्यसले समाजमा उत्पन्न गरेको नैराश्यता यहाँ चर्चा गरिरहनु परेन, हामी सबैले दैनिक भोग्दै आएकै छौं । समय क्रमसँगै ब्यापारीले बैंक, बीमा, स्कुल, अस्पताल जस्ता क्षेत्रमा लगानी गरे । व्यवसायी बन्ने र यही उद्योग खोल्ने विषय उनिहरुको मन मस्तिष्कबाट बाहिर निस्कियो ।
माथि उल्लेख गरिएका क्षेत्र सेवाभावले संचालन हुनुपर्ने हो तर, व्यपारीकै हामीमुली सहित लगानी र नेतृत्व उनिहरुलाई नै दिएसँगै त्यसको प्रत्येक्षमार आमनागरिकलाई नै पर्दै आएको छ । उदाहरणमा यही विषयलाई हामी हेर्न सक्छौं ।
कुनै एउटा परिवारले आफ्ना दुई बच्चा सामान्य निजी स्कुलमा १२ कक्षासम्म पढाउँदा आजको हिसावले करिब ४० देखि ४५ लाख रुपैयाँसम्म खर्च गर्छ । सरकारले १२ कक्षासम्मको शिक्षा निःशुल्क घोषणा गरेको छ । तर, यहाँ दिइने शिक्षाले अहिलेका निजी स्कुलबाट आउने विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नदेख्दा निजी स्कुलमा बच्चा पढाइ रहेका छन् ।
यदि वार्षिक एक खर्बभन्दा धेरै बजेट दिइने सरकारी स्कुल स्तरिय हुन्थ्यो भने त्यो परिवारले आफ्नो सक्रिय जीवनमा ठूलो रकम बचत गर्न सक्थ्यो । अहिले ६८ वर्षको उमेरबाट वृद्धभक्ता वितरणको नाममा बुढाबुढीसँग भोट खरिद गर्ने लालसा बाँड्नै पर्दैन थियो ।
त्यही अवस्था स्वास्थ्य लगायतका क्षेत्रमा पनि विद्यमान छन् । यसको समूचित सम्बोधन बीना समाजवाद आउन्न र यसको उचित सम्बोधन भएको दिन समाजवाद होइन पुँजीवाद आउने छ । ठूला पुँजीवादी अर्थतन्त्रमा मानिसको आम्दानी र बचतको अनुपात निकै उत्कृष्ट रहेको छ ।
नेपालका समाजवादीहरुको ध्यान अर्थतन्त्र ‘कोल्याप्स’ बनाउनु पर्छ । सिमित अवशरवादी र दलालको जिम्मा लगाउनु पर्छ भन्ने ध्यानबाट ग्रसित छ । त्यसैको काष्टिङ अर्थमन्त्रालको नेतृत्वले विगत ४/५ वर्षदेखि देखाउँदै आएको छ ।
त्यसमा पनि अहिलेका अर्थमन्त्रीले हरेक क्षेत्र अस्थिर बनाएका छन्, त्यसको साक्षी अर्का समाजवादी प्रधानमन्त्री शेरबहादुर देउवा बन्दै आएका छन् । यहाँ एउटा चलन छ । भारत र अमेरिकालाई ठूला शब्दले गाली गर्न सक्ने मानिस र राजनीतिक दल राष्ट्रवादी बन्छ ।
त्यो खोक्रो राष्ट्रवादको दलदलमा फस्दै जाँदा नेपालको परराष्ट्र सम्बन्ध नै क्षिण हुँदै गएको छ । यसलाई बलियो बनाउन कसरी काम गर्ने ? अर्थ कुटनीतिको विषयमा हाम्रो बुझाई के हुने जस्ता विषय कसैको चासोको विषय नै बन्दैन । त्यसैले हाम्रो राष्ट्रवाद नै हामी टाट उल्टने बाटो बन्ने खतरा रहेको छ ।
अन्त्यमा २० वर्ष पुरानो चाणक्यको यात्रा डिजिटल संस्करणमा पनि ३ वर्ष पुरा भएको छ । हामी आफुलाई म्याग्जीनकै रुपमा राख्न चाहन्छौं र त्यही प्रयास पनि गर्दै आएका छौं ।
यी २० वर्षमा हामीले भोगेका र देशले भोगेका अर्थ राजनीतिको पाटोलाई केलाउँदै अगाडिको यात्रा तय गर्ने प्रण गर्दछौं ।