काठमाडौं । पछिल्ला दिनहरुमा लगातार ओरालो लागेको सेयर बजार कारोबार रकममा पनि सुस्तता छाएको छ । सूचकसँगै कारोबार रकम दिनप्रतिदिन घट्दो क्रममा रहेको छ ।सूचकघटे पनि औसतमा २५ करोडको कारोबार हुँदै आएको बजारमा अहिले २० करोडभन्दा कममा सीमित भएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से ३.०३ अंकले घटेर ११३१.५३ अंकमा आइपुगेको छ । आज १६६ कम्पनीको १६ करोड ६९ लाख २१ हजार ७९९ रुपैयाँको कारोबार भएको छ । ७ लाख ७७ हजार ७३५ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबार भएका १२ वटा समूहमध्येमा दुई वटा समूहको सूचक बढेका छन् भने बाँकी १० वटा समूहको सूचक ओरालो लागेका छन् ।
आज लघुवित्त र अन्य समूहको सूचक सामान्य अंकले बढेका छन् । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २२.४४ अंकले घटेको छ । वाणिज्य बैंक समूह पनि ४.८३ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा सानिमा बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ८६ लाख ५६ हजार २९२ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा नेपाल बैंक र प्रभु बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । नेपालको ८३ लाख र प्रभुको ६८ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज साल्ट खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य ९.४३ प्रतिशतले बढेके छ भने तिनाउ मिसन डेभलप्मेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.९६ प्रतिशतले घटेको छ ।