काठमाडौं । अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौँ राजश्व छल्ने दुई डिष्ट्रिलरी सञ्चालकलाई आन्तरिक राजश्व कार्यालय,वीरगन्जले ३१ करोडभन्दा बढी जरिवानासहित एक–एक वर्ष कैद गर्ने निर्णय गरेको छ।
जय श्री धौलागिरि डिस्टलरी र उदयपुर डिष्ट्रिलरीले अन्तःशुल्कको स्टिकर हिनामिना गरी राजश्व छलेका प्रमाणित भएकाले आन्तरिक राजश्व कार्यालयलेले दुवै उद्योगका सञ्चालकलाई सो कारवाही गरेको हो ।
उदयपुर डिष्ट्रिलरीले ३६ लाख ६९ हजार ७४२ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेकाले त्यसका सञ्चालक ओम प्रकाश कलवारलाई २६ करोड १६ लाख जरिवानासहित एक वर्ष कैद र धौलागिरि डिष्ट्रिलरीले सात लाख ४५ हजार ६१५ थान अन्तःशुल्क स्टिकर हिनामिना गरेकाले त्यसका सञ्चालक शम्भुशरणप्रसाद कलवारलाई एक वर्ष कैद र पाँच करोड ४७ लाख जरिवाना गरिएको कार्यालयका प्रमुख गोपीकृष्ण कोइरालाले जानकारी दिए।
दुवै सञ्चालकको जायजथा बिक्री तथा लिलाम गरी जरिवानाको रकम असुल उपर नभए फौजदारी संहिता अनुसार थप सात वर्ष कैद सजाय गरिने उक्त कार्यालयले जनाएको छ। दुबै उद्योग सञ्चालकलाई वीरगञ्ज कारागार पठाइएको छ ।
डिष्ट्रिलरीभित्र निगरानी गर्न खटाइएका कर्मचारीले समेत आफ्नो दायत्व पूरा नगरेको प्रमाणित भएकाले ती कार्यालयमा कार्यरत चार कर्मचारीलाई निजामती सेवा ऐन २०५० अनुसार विभागीय कारवाही गरिने निर्णय भएको कार्यालय प्रमुख कोइरालाले जानकारी दिए ।रासस