काठमाडौं । नेपाली मुद्रा इतिहासकै कमजोर भएको छ । अमेरिकी डलरको भाउ बढेसँगै नेपाली मुद्रा अवमूल्यन भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलरको खरिददर १२४.६२ पुगेको छ भने विक्रीदर १२५.२२ रुपैयाँ पुगेको छ ।
रुस–युक्रेन युद्धपछि अमेरिकी डलरको भाउ लगातार उकालो लागिरहेको छ । विश्वभर डलरको माग बढेसँगै भाउ पनि सोही अनुसार बढ्दै गएकोे हो । डलरको मूल्य वृद्धिले सवदेशी मुद्रा कमजोर हुनेगरेको छ ।
अन्तर्राष्ट्रिय कारोबार हुने करेन्सी डलरको भएकाले यसको माग बढ्ने वित्तीकै संसारभर आपूर्ति प्रणालीको लागत बढ्ने गर्दछ ।वाणिज्य क्षेत्रका जानकारहरूका अनुसार आन्तरिक तथा बाह्य कारणले विश्व बजारको वातावरण प्रतिकूल बन्दै गए डलरको माग उच्च हुन्छ । जुनसुकै ठाउँमा कारोबार गर्न मिल्ने विश्वसनीय करेन्सी भएकाले माग बढ्दै जाने उनीहरूको भनाइ छ ।
२०७८ असार मसान्तको तुलनामा २०७९ वैशाख मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३.७१ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.७२ प्रतिशतले अधिमूल्यन भएको थियो ।
चालु आवको वैशाख मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२३.६३ पुगेकोमा पछिल्लो २ महिनामा मात्र ०.९९ रुपैयाँले डलरको भाउ बढेको छ । पछिल्लो एक वर्षमा डलरको भाउ ६.१८ प्रतिशत बढेको छ ।
२०७८ असार मसान्तमा उक्त विनिमयदर ११९.०४ रुपैयाँ पुगेको थियो । यद्यपि, नेपाली अर्थतन्त्रको रेमिट्यान्स र पर्यटन एक हिस्सा भएकाले डलरको मूल्य वृद्धिले सवदेशमा पैसा पठाउनेहरूलाई फाएदा हुने छ भने पर्यटकहरूले गर्ने खर्चमा केही बढोत्तरी हुने छ ।जसले नेपाली अर्थतन्त्रका लागि सकारात्मक भूमिका खेल्ने अर्थविद्हरू बताउँछन् ।
मूल्य वृद्धि झन उकालो
पछिल्लो समय अन्र्तष्ट्रिय बजारमा इन्धन संकटले मूल्य वृद्धिको रफ्तार उकालो लागिरहेको छ । पेट्रोलियम पदार्थको मूल्य आकाशिदा ढुवानीे लागत बढेको छ भने त्यसले दैनिक उपभोग्य वस्तुको मूल्य छोइ नसकनु बनाएको छ ।
राष्ट्र बैंकले चालु आवको मौद्रीक नीतिमार्फत मुद्रस्फ्रीती ७ प्रतिशत कायम राख्ने घोषणा गरेपनि अहिले नियन्त्रण बाहिर छ ।वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको छ ।२०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ५.८४ प्रतिशत रहेको छ ।
२०७९ वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १६.०६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०५ प्रतिशत रहेको थियो । नेपाली अर्थतन्त्रको संरचना अनुसार डलरको मूल्य वृद्धिले अपभोक्ताको भान्स अझै महंगीने जानकारहरू बताउँछन् ।
भुक्तानी सन्तुलनमा दबाब
चालु आवको सुरुदेखि नकारात्मक बनेका वित्तीय सूचकहरूमा हालसम्म सुधार हुन सकेको छैन । अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब देखिएपछि सरकारले वस्तु आयातमा कडाइ गरेको थियो ।
डलरको मूल्य वृद्धिले बढ्दो व्यापार घाटाको भुक्तानी सन्तुलनमा चुनौती थपिने भएको हो । वस्तु आयात गर्दा पैसा डलरमा भुक्तानी गर्नुपर्ने भएकाले यसको असर बढ्ने आकलन छ ।
व्यापार घाटाले चालु वर्षमा ल्याइएको बजेटलाई उछिन्ने देखिएको छ । चालु आवको जेठ मसान्तसम्म नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगिसकेको छ । महामारीको अवधिमा १५ अर्ब डलर पुगेको विनिमय संचिति आयात बढेसँगै ओरालो लाग्नेक्रम जारी छ ।
राष्ट्र बैंकका अनुसार चालु आवको वैशाख मसान्तसम्म ९ अर्ब २८ करोड डलर विनिमय संचिति रहेको छ । जसले ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न सकिने आकलन गरिएको छ ।
यस अवधिमा चालु खाता ४ अर्ब ५७ करोड डलरले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त खाता २ अर्ब १४ करोडले घाटामा थियो । यस अवधिमा शोधनान्तर स्थिति २ अर्ब ४१ करोडले घाटामा रहेको छ गत वर्षको सोही अवधिमा ५ करोड ५४ लाख डलरले बचतमा थियो ।