काठमाडौं । आजदेखि अनिश्चितकालीन सेवा बन्दमा उत्रिएका वायुसेवा संचालकहरु हडतालबाट पछि हटेका छन् । नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच भएको वार्तामा आज बिहान ११ बजेदेखि हवाई सेवा संचालन गर्ने सहमति भएको हो ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा सञ्चालक संघका पदाधिकारीबीच मंगलबार मध्यरात भएको वार्तापछि उडान नरोक्ने सहमति भएको हो । साथै, वायुसेवा संचालकको माग बारे वार्ता जारी रहने र सेवा पनि संचालन गर्ने सहमति भएको छ ।
प्राधिकरणले गत आइतबार विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरू राति पार्किङ गर्न काठमाडौंबाहिर (अनुमति लिइएकै बेस एरियामा) लैजानुपर्ने निर्णय गरेको थियो । त्यसको विरोधमा वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गरी बुधबारदेखि सम्पूर्ण हवाई उडान बन्द गर्ने घोषणा गरेको थियो।
पूर्व सूचना बिनै संघले गैरजिम्मेवार ढंगले हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो भने प्राधिकरणले टुलुटुलु हेरेर नबस्ने घोषणा गरेको थियो ।
हाल नेपालको कानुन अनुसार अत्यावश्यक सेवामा पर्ने हवाई सेवा बन्द गर्न नपाउने व्यवस्था भए पनि वायुसेवा संचालकले त्यसको खिल्ली उडाउँदै बन्दको घोषणा गरेका थिए ।