‘बल मिच्याइँ’ गर्न नपाएपछि हवाई व्यवसायी सेवा बन्द गर्दै

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ तथा प्रयोगविहीन अवस्थामा रहेका हवाई जहाज अपरेटिङ बेस (दर्ता भएकै स्थान) मा लगेर राख्न वायुसेवा सञ्चालकलाई निर्देशन दिएको छ ।

 

त्रिभुवन विमानस्थलमा ट्राफिक चाप बढेको भन्दै प्राधिकरणले हवाई कम्पनीहरूलाई दर्ता भएकै स्थानबाट सेवा संचालन गर्न निर्देशन दिएको हो ।

 

प्राधिकरणले सो निर्देशन दिएसँगै वायुसेवा प्रदायक भने आन्दोलनमा उत्रिएका छन् । नेपाल वायुसेवा संचालक संघले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारदेखि देशभर हवाई सेवा बन्द गर्ने घोषणा गरेको हो ।

 

‘बाध्यात्मक रूपमा यस संघसंग आबद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाई सेवा कम्पनीहरूले प्रदान गर्दै आएका आपतकालीन उद्धारलगायत नियमित उडानहरू मिति २०७९।०३।०८ गतेबाट स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

संघका अध्यक्ष रामेश्वर थापाले भोलिदेखि हवाई उडान सेवा बन्द गर्ने बताए । सरकारले तोकिएको आधार विमानस्थलमै पार्किङ गर्नुपर्ने व्यवस्था गरेको भन्दै त्यो आफूहरुलाई असह्य हुने उनले बताए ।

 

उनले इतिहासमा पहिलो पटक यस्तो दमन भएको भन्दै सेफ्टीमा कुनै कम्प्रोमाइज नगर्ने बताए । सरकारले नयाँ बनाएको विमानस्थल हरुको घाटालाई परिपूर्ति गर्न खोजेको आरोपमा लगाए ।

 

सरकारले हवाई सेवालाई अत्यावश्य सेवामा राख्दै यस क्षेत्रमा बन्द हडताल गर्न नपाउने व्यवस्था गरे पनि वायुसेवा प्रदायक भने त्यसलाई लत्याउँदै आन्दोलनमा उत्रिएका हुन् ।आफ्ना माग राख्दै सेवा संचालन गर्नुपर्ने भए पनि वायुसेवा प्रदायक सिधै सेवा नै बन्द गर्न लागेका हुन् ।

 

आफूले अनुमति लिएको ठाउँमा नगई काठमाडौंबाटै सेवा संचालन र पार्किङ गर्दै गर्दै आएका वायुसेवा कम्पनी प्राधिकरणले अनुमति लिएकै ठाउँमा जाओभन्दा उल्टो आन्दोलनमा उत्रिएका हुन् ।

 

जुन एयरलाइन्सले जुन क्षेत्रमा दर्ता भएको सोही क्षेत्रबाट उडान तथा पार्किङ गर्नुपर्ने व्यवस्था भए पनि एयरलाइन्स कम्पनीहरूले बल मिच्याइँ गर्दै काठमाडौंबाटै सेवा दिँदै आएका छन् । लामो समयदेखि वायुसेवा संचालकहरूले आफ्नो जहाज र हेलिकप्टर त्रिभुवन विमानस्थल भित्रै पार्किङ गरेर राख्ने गरेका छन् ।

 

वायुसेवा प्रदायकले आफ्नो स्वार्थ अनुसारको काम गर्न नपाएपछि उल्टो आन्दोलनमा उत्रिएका हुन् । जसले आमसर्वसाधरणले सास्ती भोग्नुपर्ने देखिन्छ ।

 

१७ विमान मात्रै काठमाडौंबाट अनुमति

 

त्रिभुवन विमानस्थलमा रहेका कुल ५२ विमानहरू मध्ये १७ थान विमान काठमाडौंमा अप्रेशन बेसको लागि अनुमति प्राप्त छन् । बाँकी रहेको ३५ वटा विमानहरू मध्ये २० वटा विमानहरू र मध्यम क्याटगोरीका १५ थान विमानहरू काठमाडौं बाहिरका हब विमानस्थलहरू र रात्री उडान सुविधा भएका तथा अन्य पार्किङ सुविधा भई वायुसेवाको बेस राख्नुपर्नेछन् ।

 

हाल बुद्ध एयरको १४ वटा जहाज मध्ये ५ वटा काठमाडौं र ९ वटा काठमाडौं बाहिरको बेसका लागि अनुमति प्राप्त छन् । श्री एयरलाईन्सका ९ वटा जहाज मध्ये २ वटा काठमाडौं र अन्य ६ वटा उपत्यका बाहिरका लागि बेस अनुमति लिएका छन् ।

 

यती एयरलाइनसको ५ वटा जहाजमध्ये २ वटा काठमाडौं र अन्य ३ वटा काठमाडौं बाहिरका लागि बेस अनुमति प्राप्त भएका छन् । सौर्य एयरलाइनसको ३ वटा जहाज मध्ये १ उटा काठमाडौं र २ वटा काठमाडौं बाहिरका लागि छ ।

 

अटेरी गर्ने छुट छैन : महानिर्देशक

 

उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन विमानस्थललाई टेप्पो रोक्ने ठाउँ बनाउन नमिल्ने बताए । उनले दीर्घकालीन रूपमा समाधानको लागि त्रिभुवन विमानस्थलमा पार्किङको नाममा बिग्रेका जहाज र रात्री बेस हटाउनुपर्ने बताए ।

 

एयरलाइन्स व्यवसायीले गर्ने रात्री बेस अन्य जिल्लामै भए त्यहाँका स्थानीयले सेवा पाउने उनको भनाइ छ । ‘टेप्पु थुपारे जस्तो त्रिभुवन विमानस्थलमा थुपार्न पाइँदैन, बिग्रेका जहाजहरू समेत क्वारेन्टाइनमा पार्किङमा राखेको छ, हटाउभन्दा अटेरी गरेर अब हुँदैन,’ अधिकारीले भने ‘आ–आफ्नो बेसमा लगेर राखे उताका जनताले पनि सुविधा पाउँछन्, यता हवाई ल्याण्ड जाम पनि हुँदैन ।’

 

प्राधिकरणले २०७९ वैशाख ११ गते नै गठन भएको कार्यदलले त्रिभुवन विमानस्थलको आन्तरिक उडानमा एयर ग्राउण्ड होल्डिङ, डिले, पार्किङ, टर्मिनल कगेसन लगायतका समस्याहरूको दीर्घकालीन व्यवस्थापनको लागि वायुसेवा कम्पनीहरूलाई आफ्नै बेसमा हजाज तथा हेलिकप्टर राख्न निर्देशन दिएको थियो ।

 

उनले पोलिसिमा सहमती गरेर अघि बढ्न व्यवसायीहरूलाई आह्वान गरेका छन् । नीतिभन्दा बाहिर गएर उडानै ठप्प गरेर जनतालाई दुःख दिए प्राधिकरण हेरेर नबस्ने उनले बताए ।

 

नेपाल पुनर्बीमा सहित ४ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ? Read Previous

नेपाल पुनर्बीमा सहित ४ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

१०० मेगावाटको हाइड्रोजन प्लान्ट स्थापनाका लागि अध्ययन गर्न सरकारको आग्रह Read Next

१०० मेगावाटको हाइड्रोजन प्लान्ट स्थापनाका लागि अध्ययन गर्न सरकारको आग्रह