बहुतले पार्किङ निर्माणमा देखिएन आकर्षण, ३६ ठाउँमा आह्वान गरिएकोमा ५ मात्र आयो प्रस्ताव

काठमाडौं ।  बहुतले (भर्टिकल) पार्किङ निर्माणमा लगानीकर्ता आकर्षित हुन नसकेको देखिएको छ । नगर विकास कोषले बहुतले पार्किङ निर्माणका लागि ऋण उपलब्ध गराउने गरी आह्वान गरे पनि लगानकर्ताको आकर्षण नदेखिएको हो ।

 

कोषले गत माघमा उपत्यकासहित ३६ स्थानमा बहुतले पार्किङ बनाउने सरकारी तथा निजी संस्थालाई ऋण उपलब्ध गराउने योजनासहित प्रस्ताव आह्वान गरेको थियो । सोमध्ये ५ स्थानमा मात्र बहुतले पार्किङ निर्माणका लागि प्रस्ताव आएको कोषले जनाएको छ ।

 

कोषका आयोजना प्रमुख राजेश भोछिबोयाले थापाथली, सोल्टीमोड, बनेपा, बुटवल, ललितपुरमा बहुतले पार्किङ निर्माण गर्न प्रस्ताव आएको बताए । ती स्थानमा बहुतले पार्किङ निर्माणका लागि प्रस्ताव आए पनि कामले अपेक्षित गति लिन नसकेको उनले बताए ।

 

पाइलट प्रोजेक्टको रूपमा थापाथलीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको १ रोपनी हाराहारी जमिनमा बहुतले पार्किङ निर्माण गरिने प्रस्ताव गरिएको थियो ।

 

संभाव्यता अध्यन गर्न कन्सलटेन्ट हायर गर्ने प्रक्रिया अगाडि बढे पनि कामले गति नलिएकोे आयोजना प्रमुख भोछिबोयाले बताए । उनले उक्त स्थानमा पार्किङ बनाउन बोर्डको नेचरसँग नमिलका कारण फेरि अघि बढ्न नसकेको बताए । ‘थापाथलीमा बहुतले पार्किङ बनाउने भन्ने थियो फेरि अहिले बोर्डको नेचर अफ वर्क नमिलेपछि अहिले त्यो बन्ने टुंगो लागेको छैन,’ उनले चाणक्य पोष्टसँग भने ।

 

त्यस्तै, बनेपा र बुटवलमा समेत बस पार्कमा बहुतले पार्किङ बनाउन परामर्शदाता छनोट भइसकेको उनले बताए । उनका अनुसार विगतका प्रतिनिधिसँग सम्झौता हुने प्रकृया अघि बढे पनि प्रतिनिधि परिवर्तन भएपछि फेरि सम्झाउनु परेको हो । पछिल्लो समय बहुतले निर्माणका लागि पहल भइरहेको उनले बताए । उनका अनुसार उक्त बहुतले पार्किङ बनाउन त्रिपक्षीय सम्झौता हुन बाँकी रहेको छ ।

 

बहुतले पार्किङ निर्माणका लागि ललितपुर महानगरपालिका वडा ३ को ठाडोढुंगामा प्रस्ताव आएको कोषले जनाएको थियो । व्यक्तिगत रूपमा काठमाडौं महानगरपालिका वडा १३ को सोल्टीमोडमा बहुतले पार्किङ निर्माणका लागि प्रस्ताव आएको थियो ।

 

ललितपुरको नगरपालिकाले बनाउने भनेको स्थानमा निजी क्षेत्रको जमिन भएकाले ऋण उपलब्ध गराउन नसकिएको बताए । जग्गाको स्वामित्वमा निजी क्षेत्रको हुँदा पछि विवाद आउने भन्दै ऋण उपलब्धता नगराएको हो ।

 

पार्किङ बनाउदा ८ आनाभन्दा बढी क्षेत्रफल भएका जग्गामा आयोजना निर्माण तथा संचालन गर्न इच्छुक स्थानीयतह, सरकारी तथा गैर सरकारी संस्थाले निर्माणका लागि प्रस्ताव गर्न सक्ने गरी आह्वान गरिएको थियो ।

 

बहुतले पार्किङका लागि प्रस्तावित स्थानहरू

 

कोषले थापाथली, त्रिपुरेशवर, कालिमाटी, टेकु, सोल्टीमोड, कलङ्की, कुलेश्वर, बल्खु, नयाँसडक, ठमेल, नयाँ बानेश्वर, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, चाबहिल, मित्रपार्क, लैनचौर, गैह्रीधारा, हाँडीगाँउ, मीनभवन, कोटेश्वर, पुलचोक, जावलाखेल, सातदोबाटो, कुपण्डोल लगायतका स्थानहरूमा बहुतल्ले पार्किङ निर्माणका लागि प्रस्ताव आह्वान गरेको थियो ।

 

सो स्थानका मुख्य व्यावसायिक सडकछेउ वा दोहोरो प्रवेशमार्ग भएको भित्री जग्गाहरूमा बहुतल्ले पार्किङ बनाउन प्रस्ताव आह्वान गरिएको थियो ।

 

हवाई भाडा बढ्यो, कुन गन्तव्यको कति पुग्यो ? (सूचीसहित) Read Previous

हवाई भाडा बढ्यो, कुन गन्तव्यको कति पुग्यो ? (सूचीसहित)

'होण्डा मनसुन एक्सचेन्ज' उपहार योजना : ७ हजार बोनस र ४ हजार क्यासब्याक पाइने Read Next

'होण्डा मनसुन एक्सचेन्ज' उपहार योजना : ७ हजार बोनस र ४ हजार क्यासब्याक पाइने