काठमाडौं । वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै वायुसेवा कम्पनीहरुले इन्धन शुल्क (फ्युल सरचार्ज)वृद्धि गरेका हुन् ।फ्युल सरचार्ज बढेपछि हवाई भाडा पनि स्वतः बढेको हो ।
निगमले आइतबार रातिदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ प्रतिलिटर बढाएको थियो । हवाई सेवा प्रदायकहरुले पनि सोही आधारमा फ्युल सरचार्ज बढाएका हुन् ।
नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । फ्युल सरचार्ज न्यूनतम १७० रुपैयाँदेखि ८४० रुपैयाँसम्म वृद्धि भएको छ ।
सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौं-धनगढीको भाडा ८४० रुपैयाँ बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौं-धनगढी १६ हजार ८०५ रुपैयाँ कायम भएको छ भने काठमाडौं-सिमराको भाडा ४ हजार १९५ रुपैयाँ पुगेको छ ।
माउन्टेन फ्लाइटको भाडादर १४ हजार ७२० रुपैयाँ कायम भएको सङ्घले जनाएको छ ।
