काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने म्याद थप भएको छ । कम्पनीले जेठ २४ गतेदेखि आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी र रुकुम पश्चिमका स्थानीय बासिन्दाहरुका लागि विक्रीमा ल्याएको आइपीओ भर्ने म्याद असार १० गतेसम्म थप गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकितदरले ६ करोड १२ लाख ७९ हजार ३०० रुपैयाँ बराबरको ६ लाख १२ हजार ७९३ कित्ता आइपीओ विक्रीमा ल्याएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। आइपीओमा सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा, ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर सिंगल बी प्लस’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ ।