काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । आइतबार एकैदिन ३७ अंकले घटेको नेप्से आज (१२:४५ बजेसम्म) ५१ अंकले घटेको छ ।
गत भदौ २ गते इतिहासकै सर्वाधिक ३१९९ विन्दुको रेकर्ड बनाएको नेप्से त्यस यता १० महिनामै झन्डै १४०० अंकले घटेको छ । आज नेप्से ६ वर्ष अघि २०७३ को उच्च विन्दु १८८१.४५ अंकबाट पनि तल झरेको छ ।
सोमबार १२:४५ बजेसम्म नेप्से घटेर १८८० विन्दुमा आएको छ । यो डेढ वर्ष यताकै न्यून विन्दु पनि हो । पछिल्लो समय समग्र अर्थतन्त्रका सूचक नकारात्मक भइरहँदा सेयर बजार पनि लगातार ओरालो लागेको हो ।
बैंकिङ प्रणालीमा भएको तरलता अभाव, बढ्दो बैंक ब्याजदर, सेयर धितो कर्जामा राष्ट्र बैंकको कडाइ लगायत कारणले सेयर बजार ओरालो लागेको छ ।
अहिले सडकदेखि सदनसम्म सेयर बजारको समस्या बारे प्रश्न उठे पनि त्यसको ठोस समाधान हुन सकेको छैन् । जसले लगानीकर्ता झनै निराशा हुँदा बजार लगातार गिरावट जारी छ ।