कमला-कुशाहा ४ लेन सडक : २५ पुल र २ फ्लाइओभर निर्माण हुँदै

सांकेतिक तस्वीर

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमला–कुशाहा खण्डमा २५ वटा पक्की पुल र २ वटा फ्लाइओभर निर्माण हुने भएको छ । सिराहाको कमला नदीदेखि सप्तरीको कुशाहासम्मको ४६ किमी यस सडकमा उक्त पुल र फ्लाइओभर निर्माण हुने भएको हो ।

 

सो खण्डमा अहिले ठेक्का प्रक्रिया सम्पन्न भई धमाधम २५ वटा पुल निर्माण भइरहेको आयोजना प्रमुख विनोद मोहारले बताए । उनका अनुसार फ्लाइओभर निर्माण भने आगामी आर्थिक वर्षबाट सुरू हुनेछ ।

 

आयोजना अन्तर्गत ४००/४०० मिटरको दुई वटा फ्लाइओभर बन्ने छन् । मुख्य चाप भएका दुई केन्द्रमा फ्लाइओभर निर्माण गरिने आयोजना प्रमुख मोहारले बताए । उनले मिर्चया र लाहानमा फ्लाइओभर निर्माण गरिने तयारी भइरहेको बताए । आगामी आर्थिक वर्षमा उक्त स्थानमा फ्लाइओभर निर्माणको काम सुरू गरिने उनले बताए ।

 

‘अहिले पुल र सडकको काम भइरहेको छ, आगामी आर्थिक वर्षबाट फ्लाइओभर निर्माणको काम पनि सुरू गर्ने छौं,’ मोहारले चाणक्य पोष्टसँग भने । उनले फ्लाइ ओभर निर्माण समेत एकै प्याकेजमा राखेर बनाउने योजना रहेको बताए ।

 

कञ्चनपुर–कमला खण्डको दोस्रो प्याकेजका रूपमा निर्माण भइरहेको ४६ किलोमिटर यो सडक विस्तार आयोजनामा हाल ब्रिज निर्माणको काम भइरहेको आयोजना प्रमुख विनोद मोहारले जानकारी दिए ।

 

उनका अनुसार हाल सबै पुलको ठेक्का लागेर निर्माण कार्य सुरू भइसकेको छ । पुल निर्माणसँगै एकै प्याकेजमा सडक, पुल, फुटपाथ, पाइपलाइन, कुलेसालगायतका निर्माण कार्य हुने उनले बताए । ‘अहिले सबैतिर पुलको काम भइरहेको छ, पुलसँगै सडकमा कल्भर्ट निर्माण, माटो भर्ने काम पनि भइरहेको छ,’ मोहारले चाणक्य पोष्टसँग भने ।

 

आयोजनामा चालु आर्थिक वर्षमा कल्भर्ट र माटो भर्ने काम सम्पन्न हुने उनले बताए । चालु आवमा बजेट अभाव भएका कारण धेरै प्रगति हुन नसकेको उनले बताए । उनका अनुसार चालु आवमा १ अर्ब रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । चालु आवमा आयोजनाले ६० करोड रुपैयाँ खर्च गरिसकेको छ । थप बजेट माग गरे पनि सरकारबाट पाउने बजेट अझै पाउन नसकेको उनले बताए ।

 

आयोजना कार्यान्वयन निर्देशनालय (एडीबी) अन्तर्गत अघि बढेको कमला–कञ्चनपुर सडक विस्तारको काम दुई प्याकेजमा भइरहेको छ । कञ्चनपुरदेखि कुशाहासम्म ४० किमी र कुशाहादेखि कमलासम्म ४६ किमी गरी दुई प्याकेजमा काम भइरहेको हो ।

 

यो सडक एडीबीको सहुलियत ऋण सहयोगमा निर्माण भइरहेको छ । २०७६ भदौमा नै ठेक्का निकालिए पनि सोही वर्षको माघ २४ गते अदालतले रिट खारेज गरेपछि पुनः मूल्यांकन प्रक्रिया अघि बढेको यो सडक विस्तारको ठेक्का चिनियाँ कम्पनीले पाएको थियो ।

 

ठेक्का पाएको कम्पनीले निर्माण थालेको ३ वर्षमा सडक तयार पार्नुपर्ने सम्झौतामा उल्लेख छ । चिनियाँ कम्पनीले यस खण्डमा निर्माण सुरू गरेको १ वर्ष पूरा भएको छ ।

 

दुई लेनको यो सडकलाई चार लेनको बनाउन काम भइरहेको छ । मुख्य सडकको साइटमा दुवैतिर ४/४ मिटर हरियालीका लागि छुट्याइनेछ भने ३ मिटर दुवैतर्फ फुटपाथ रहने छ ।

 

निर्देशनालयका अनुसार घना बस्ती र बजार एरियामा दायाँबायाँ साढे ६/६ मिटरको सर्भिस लेन हुनेछ भने त्यो लेन बिग्रिएका सवारी साधन साइड लाउन र लोकल ट्राफिकका लागि प्रयोग हुनेछ । बस्ती एरियामा करिब ५० मिटरको सडक हुनेछ । यस आयोजना अन्तर्गत ५५ वटा पुल निर्माण हुने छन् । यस आयोजनामा ८ वटा अण्डरपास निर्माण गरिने छ ।

 

१ लिटर मोबिल किन्दा १ लिटर पेट्रोल सित्तैमा ! यी पेट्रोल पम्पबाट पाइन्छ Read Previous

१ लिटर मोबिल किन्दा १ लिटर पेट्रोल सित्तैमा ! यी पेट्रोल पम्पबाट पाइन्छ

सूर्या लाइफको 'एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणामूलक' कार्यक्रम सम्पन्न Read Next

सूर्या लाइफको 'एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणामूलक' कार्यक्रम सम्पन्न