सरकारी ऋणको ग्राफ उकालो लाग्दै, कसरी गर्छ ‘पे ब्याक’ ?

काठमाडौं । नेपालको आन्तरिक तथा बाह्य ऋणको आकार बढ्दै गएको छ । सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट वक्तव्य मार्फत स्रोतको घोषणा गर्ने गरेको छ ।यसरी नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आन्तरिक स्रोतले मात्र नधान्ने भएपछि वैदेशिक तथा आन्तरिक ऋणको भारी थपिँदै गएको हो ।

 

चालु आर्थिक वर्षको ४ खर्ब रकम थपिएसँगै नेपालको कुल ऋण २० खर्ब बढी पुग्नेछ । सरकारले योजना छनोट तथा स्रोत सुनिश्चिता विना नीति तथा कार्यक्रमहरू बनाउँदा वर्षेनी ऋणको भारी थपिए पनि त्यसको प्रतिफल भने कमजोर छ ।

 

आर्थिक वर्ष २०७७/७८ सम्म नेपालको कुल राष्ट्रिय ऋण १७ खर्ब ३७ अर्ब ८ करोड ८७ लाख रहेको पुगेको छ । सोमध्ये आन्तरिक ऋण ८ खर्ब २ अर्ब ९४ करोड पुगेको छ भने बाह्य ऋण ९ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।

 

सरकारले चालु अवमा बहुपक्षीय वैदेशिक ऋण ३३ अर्ब २२ करोड र वैदेशिक ऋण द्धीपक्षीयतर्फ ९ अर्ब ५२ करोड रुपैयाँ ऋण भुक्तानीका लागि १ खर्ब २७ अर्ब ८२ करोड रुपैंया छुट्याएको छ ।

 

वैदेशिक तथा आन्तरिक ऋण लिएर बजेटको लक्ष्य हासिल गरीने वक्तव्य मार्फत बताउने गरिएको छ । तर, विकास खर्च गर्न नसक्दा सो रकम केबल चालु खर्चमै सीमित हुने गरेको छ ।एकातिर आयातमुखी अर्थतन्त्र र अर्कोतर्फ उत्पादनमूलक क्षेत्रमा लगानी नहुँदा अर्थतन्त्र नै संकट उन्मूख हुने जानकारहरू बताउँछन् ।

 

केन्द्रीय तथ्यांक विभागका अनुसार हाल नेपालको अर्थतन्त्रको आकार अर्थात कुल गार्हस्थ उत्पादन (जीडीपी) ४८ खर्ब ५२ अर्ब पुगेको छ । जसको तुलनामा नेपालको ऋण ४२ प्रतिशत भन्दा बढी पुगेको छ ।

 

अन्य देशहरूको जीडिपीको तुलनामा नेपालको ऋण सामान्य रहेको अर्थविद्हरू बताउँछन्  । विश्व बैंक लगायत अन्य संस्थाहरूले पनि जिडीपीको तुलनामा ७५ प्रतिशतभन्दा कम ऋण अर्थतन्त्रका लागि जोखीमयुक्त नभएको बताउने गरेका छन्  ।

 

सरकारले बाह्य क्षेत्रबाट लिएको ऋण प्रतिफल दिने पूर्वाधारहरूमा लगानी गरेन भने त्यसले मुलुकको अर्थतन्त्र कमजोर बनाउँदै लेजाने र आर्थिक संकट आउने विश्वका अन्य देशहरूको उदाहरण प्रशस्त छन्  ।

 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा चालु खर्चका लागि आन्तरिक तथा बाह्य ऋण लिन नपाइने व्यवस्था छ । आगामी आवमा सरकारले स्रोत सुनिश्चताका लागि वैदेशिक ऋण २ खर्ब ४२ अर्ब २६ करोड र २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट जुटाउने लक्ष्य लिएको छ ।

 

सरकारले कसरी तिर्छ ?

 

सरकारले लिएको ऋण तिर्ने स्रोत भनेकै राजस्व संकलन हो । अर्थविद् चन्द्रमणी अधिकारी राजस्व संकलन र आन्तरिक उत्पादन बलियो भएका देशहरूका लागि ऋण तिर्न धेरै समस्या नहुने बताउँछन् ।

 

‘आन्तरिक तथा बाहय ऋण तिर्ने भनेकै सरकारले उत्पादन बढाएर राजस्व संकलनबाट हो । राजस्व वृद्धिका लागि अर्थतन्त्र फराकिलो हुनुपर्छ,’ उनले भने, ‘हाम्रो जस्तो देशमा उच्चदरको ऋण वृद्धिले तिर्ने क्षमता कम्जोर भएर जान्छ । आगामी दिनहरूमा हिजोको ऋण तिरेर विकास खर्चगर्न सक्ने अर्थतन्त्र बनेन भने समस्या आउँछ ।’

 

नेपालको पछिल्लो आधा दशकदेखि जीडीपीको तुलनामा ऋणको आकार बढ्दै गएको र पूँजीगत खर्च नहुने अवस्था आएको उनले बताए । ५० प्रतिशतभन्दा बढी जीडीपीको तुलनामा ऋण सामान्य मानिए पनि यस्तो रकम सदुपयोग हुन आवश्यक रहेको उनको भनाइ छ ।

 

यस अवधिमा राजस्व र चालु खर्चमात्र दोब्बरले वृद्धि भएको, त्यस तुलनामा पूँजीगत खर्च नभएको उनले बताए ।

 

जीडीपीको तुलनामा ऋणको उकालो रफ्तार

 

नेपालमा पछिल्लो समय हरेक आवमा जडीपीको तुलनामा ऋणको हिस्सा बढ्दै गएको छ । ऋणको अनुपातमा अर्थतन्त्रको आकार नबढ्दा अर्थतन्त्र कमजोर हुँदै जाने जानकारहरू बताउँछन् ।

 

आर्थिक वर्ष २०७०/७१ मा जीडीपीको अनुपातमा नेपालको राष्ट्रिय ऋण २८.५१ प्रतिशत रहेकोमा चालु आवमा आइपुग्दा ४२ प्रतिशत बढी पुगेको छ । यस अवधिमा नेपालको ऋण झण्डै दोब्बरले बढेको छ ।

 

विशेषगरी नेपालको ऋणको हिस्सा केपी शर्मा ओली सरकारको पालामा अस्वभाविक बढेको थियो । त्यस तुलनामा अर्थतन्त्र बलियो बनाउने आधारहरू बन्न नसक्दा ऋणको भारी चुलिँदै गएको छ ।

 

यसैगरी,आव ७१/७२ मा कुल ऋण घटेर २५.६ प्रतिशतमा झरेको थियो भने आव ७२/७३ मा २७.९ पुगेको थियो । आव ७३/७४ मा २६.८ प्रतिशत, ७४/७५ र ०७५/७६ मा ३०.३ प्रतिशत कायम रहेकोमा ०७६/७७ मा आइपुग्दा ३८.१ प्रतिशत पुगेको छ ।

 

आव ०७७/७८ सम्म ४०.७२ प्रतिशत पुगेको छ भने चालु आवमा ४ खर्ब ऋण थपिँदा ४२ प्रतिशत भन्दा बढी पुग्ने देखिन्छ । यसैगरी, आगामी आवमा सरकारले लिएको ऋण थपिदै जाँदा जीडीपीको आकारमा ऋणको रफ्तार बढ्ने भएको छ ।

 

कुल बाह्य ऋण मध्ये सबैभन्दा धेरै विश्व बैंकको ५०.४४ प्रतिशत छ भने एसियाली विकास बैंकको ३१.३६ प्रतिशत रहेको छ ।

 

 

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

नबिल बैंकले ल्यायो ‘इको फ्रेन्डली बिजनेश लोन’ योजना, क-कसले पाउँछन् ? Read Next

नबिल बैंकले ल्यायो ‘इको फ्रेन्डली बिजनेश लोन’ योजना, क-कसले पाउँछन् ?