काठमाडौं । सरकारले ५ वटा सुरुङमार्गको सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढाएको छ । गुणस्तर अनुसन्धान तथा विकास महाशाखाले ५ सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि कम्पनी छनोट प्रक्रिया अघि बढाएको हो ।
महाशाखले बागलुङ–नरेठाँटी सुरुङमार्ग, फुर्सेखोला–छोरेपाटन–स्याङ्जा गुडीखोला सुरुङमार्ग, ब्याउली ढुंगा र इमिलचा खोला सुरुङमार्ग, पाल्पा सुरुङमार्ग र ताथली–वियोपी सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको हो ।
यी ५ वटै सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि महाशाखाले ठेक्का आह्वान गरी प्राविधिक मूल्यांकनबाट कम्पनीसमेत छनोट गरिसकेको छ । प्राविधिक मूल्यांकनबाट छनोट भएका सबै कम्पनीसँग आर्थिक प्रस्ताव माग गरिएको महाशाखाका प्रमुख इन्जीनीयर सौरव बज्रचार्यले जानकारी दिए ।
उनका अनुसार ५ वटै सुरुङमार्गको अध्ययनका लागि प्राविधिक मूल्यांकनबाट ५ देखि ६ वटा कम्पनी छनोट भएका छन् । अब ती कम्पनीमध्येबाटै आर्थिक प्रस्तावका आधारमा एउटा/एउटा कम्पनीले अध्ययनको ठेक्का पाउने छन् ।आर्थिक प्रस्तावपछि छनोटमा पर्ने एक परामर्शदाताले सुरुङ मार्गको अध्ययन कार्य गर्न पाउने छन् ।
‘हामीले ५ वटै सुरुङमार्ग अध्ययनका लागि प्रक्रिया अघि बढाएका छौं । जसका लागि प्राविधिक मूल्यांकनबाट कम्पनी समेत छनोट भइसकेका छन् । अब आर्थिक प्रस्तावबाट कम्पनी छनोट गरी अध्धयनको जिम्मा दिइने छ,’ उनले चाणक्य पोष्टसँग भने । सम्भवतः चालु वर्षभित्रै कम्पनी छनोट भइसक्ने उनले बताए ।
यी हुन् प्राविधिक मूल्यांकनबाट छनोट भएका कम्पनी
बागलुङ–नरेठाँटी सुरुङमार्ग : यस सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि प्राविधिक मूल्यांकनबाट ६ वटा परामर्शदाता छनोट भएका छन् । महाशाखाका अनुसार उक्त सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि ईट्को–टीएमएस–रेज जेभी, ईआरएमसी–एचसीई–स्लेट जेभी, एफबीसी–जाडे–जीएसआई जेभी, सिल्ट–बीडीए–क्वीष्ट जेभी ईआईएम–सोएलटेष्ट–आईईसी जेभी र जीईसी–यूनिट्स–ईपीसेन्टर जेभी छनोट भएका छन् ।
ताथली–वियोपीसुरुङमार्ग : यस सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि परामर्शदाता छनोटको क्रममा रहेको छ । आवेदन दिएका कम्पनीहरू मध्येबाट प्राविधिक मूल्यांकनबाट ६ वटा परामर्शदाता छनोटमा परेका छन् । यस सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि इट्को– एनसेक–आईसीजीएस जेभी, डीबी मल्टी–उदय–डिजायर्ड जेभी, इआरएमसी–एचसीइ–स्लेट जेभी, टीएमएस–एचटीआरपीएल–रेज जेभी, एफबीसी–जडे–प्यारागन जेभी र सीयस–डीइसी–एमइएच जेभी छनोट भएको महाशाखाले जनाएको छ ।
फुर्सेखोला–छोरेपाटन–स्याङ्जा गुडीखोला सुरुङमार्ग : यस सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि आह्वान गरिएको ठेक्कमा आवेदन दिएका कम्पनी मध्येबाट ५ वटा परामर्शदाताहरू छनोट भएका छन् । प्राविधिक मूल्यांकनबाट सिल्ट–बीडीए–क्वीष्ट जेभी, एफबीसी–जडे–प्यारागन जेभी, डीबी मल्टी–उदय–डीजायर्ड जेभी, ईट्को–टीएमएस–रेज जेभी र जीईसी–यूनिट्स–ईपीसेन्टर जेभी छनोट भएका छन् ।
ब्याउली ढुंगा र इमिलचा खोला सुरुङमार्ग : रारा राजमार्गको ब्याउली ढुंगा र जुम्लाको इमिलचा खोला सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न पनि प्राविधिक मूल्यांकनबाट ५ परामर्शदाता छनोट भएका छन् । महाशाखाका अनुसार डीबी मल्टी–उदय–डिजायर्ड जेभी, सीयस–होमल्याण्ड–जीओकम जेभी, इट्को–टीएमएस–रेज जेभी, एफबीसी–जडे–प्यारागन जेभी र सिल्ट–बीडीए–क्वीष्ट जेभी छनोट भएका छन् । यी कम्पनी मध्येबाट आर्थिक मूल्यांकनका आधारमा सम्भाव्यता अध्ययन गर्न एउटा कम्पनी छनोट हुनेछ ।
पाल्पा सुरुङमार्ग : पाल्पामा बन्ने अर्को सुरुङमार्गको पनि सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि आवेदन दिएका मध्ये ६ परामर्शदाता प्राविधिक मूल्यांकनबाट छनोटमा परेका छन् । छनोटमा परेकाहरूमा डीबी मल्टी–उदय–डिजायर्ड जेभी, एससीआई–सखुवा–पीनेट जेभी, इआईएम–सोएलटेष्ट–आईईसी जेभी, इट्को–एनसेक–आईसीजीएस जेभी, एफबीसी–जडे–प्यारागन जेभी र इआरएमसी–एचसीई–स्लेट जेभी छन् ।
आगामी वर्षको बजेटमा नयाँ ७ सुरुङमार्ग
सरकारले आगामी आर्थिक वर्षको बजेटमा दुम्कीबास–बर्दघाट, कुलेखानी– भीमफेदी, खुर्कोट– चियावारी, मझिमटार– शक्तिखोर, ब्याउलीढुङ्गा– ईमिल्चाखोला, सुर्खेत रानीघाट– भुरीगाउ सुरुङ मार्ग गरी ७ वटा नयाँ सुरुङमार्ग थप गरेको छ ।
चार भञ्ज्याङ्ग चार सुरुङ मार्गको अवधारणा अन्तर्गत काठमाडौं उपत्यकाका बाँकी तीन भञ्याङ्ग तर्फ टोखा–छहरे¸ गोदावरी– पनौती र साँगा– बनेपा खण्डको सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने योजना रहेको छ । सुरुङ मार्ग विकास कार्यक्रमको लागि १ अर्ब १९ करोड रुपैयाँ विनियोजन गरेको छ ।