काठमाडौं । चर्चित भारतीय क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपीएल)को प्रशारण अधिकार झन्डै पौने ८ खर्ब रुपैयाँमा विक्री भएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइपीएलको प्रसारण अधिकार ६.२ अर्ब अमेरिकी डलर (करीब ७ खर्ब ७० अर्ब नेपाली रुपैयाँ)मा विक्री गरेको हो ।
पछिल्लो पटकको विक्री सम्झौताभन्दा यो तीन गुणाले बढी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो सँगै आइपीएल विश्वकै मूल्यवान खेल प्रतियोगितामध्ये एक भएको छ ।
पछिल्लो सम्झौतामा दुई प्याकेज छन् जसमा भारतीय उपमहाद्वीपका मुलुकहरुमा प्रशारणको अधिकार स्टार इण्डिया र डिज्नीको स्थानीय कम्पनीले ३.०२ अर्ब डलरमा किनेका छन् भने डिजिटल अधिकार भायाकम १८ ले किनेको छ । प्यारामाउण्ट पिक्चर्स र भारतीय रिलायन्स इण्डष्ट्रिजको ज्वाइण्ट भेञ्चर भायाकम १८ले डिजिटल प्रशारण अधिकारका लागि ३.०५ अर्ब डलर तिर्ने भएको छ ।
ती कम्पनीले सन् २०२३ देखि सन् २०२८ सम्म ५ वर्षका लागि प्रशारणको विशेष अधिकार पाउने छन् । प्रशारण अधिकारको बिडिङमा सोनी पिक्चर्स नेटवर्क इण्डिया, वाल्ट डिस्ने, रिलायन्स इण्डष्ट्रिजलगायत सहभागी थिए ।
विश्वभरका क्रिकेटका हस्ती तथा दर्शकलाई आकर्षण गर्दै १५ वर्षको छोटो इतिहासमै आइपीएल सबैभन्दा चर्चित र महँगो प्रतियोगितामध्ये एक बनेको छ ।
अरु ठूला प्रतियोगितामा १० अर्ब डलर प्रतिवर्षको नेशनल फुटबल लिग, ४ अर्ब डलर प्रतिवर्षको इंग्लिश प्रिमियर लिग र २.७ अर्ब डलरको नेशनल बास्केटबल एशोसिएशन रहेका छन् । यद्यपि प्रतिम्याचको आधारमा आईपीएल अमेरिकी अनेशनल फुटबल लिगपछि दोस्रो स्थानमा रहेको छ ।एजेन्सी