धोवीखोला करिडोर २३ वर्षमा पनि अधुरै, अझै दुई स्थानमा अवरोध कायमै

काठमाडौं । धोवीखोला करिडोर निर्माण सुरू भएको २३ वर्ष बितिसकेको छ । काठमाडौं महानगरपालिकाले सवारीको चाप घटाउन वैकल्पिक मार्गका रुपमा धोवीखोला करिडोरलाई २०५६ सालबाट निर्माण प्रक्रिया अगाडि बढाएको थियो ।

 

महानगर अन्तर्गतको काठमाडौं भ्याली म्यापिङ प्रोजेक्टबाट धोवीखोला कोरिडोर सुधार आयोजना सुरू भएको थियो । तर, त्यसमार्फत राम्रो काम नभएपछि २०६४ पुसमा आयोजनाको जिम्मा सरकारले नै लिएको थियो । अहिले उपत्यका विकास प्राधिकरणले धोवीखोला करिडोर निर्माणको काम हेरिरहेको छ ।

 

उपत्यका विकास प्राधिकरण अन्तर्गत जिल्ला आयुक्त कार्यालयका इन्जिनीयर सजन कुँवरले आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको बताए । उनले २ स्थानमा मात्र केही प्राविधिक र स्थानीय समस्याका कारण करिडोरको काम सम्पन्न नभएको उनले बताए ।

 

उनका अनुसार बिजुलीबजार र बुढानिलकण्ठ गरी २ स्थानमा करिडोर निर्माणले राम्रो प्रगति गर्न नसकेको हो । बिजुली बजारको पश्चिममा स्थानीयले खोला डाइभर्सन गर्न दिएका छैनन् । बुढानिलकण्ठमा ९ मिटर ट्रयाक खोल्न नसकिएको हो ।‘बिजुली बजारमा चालु आवमै काम सक्ने भनेका छौं, बुढानिलकण्ठमा काम सकिन अझै अर्को वर्ष लाग्छ,’ कुँवरले चाणक्य पोष्टसँग भने ।

 

बुढानिलकण्ठको वडा २ मा प्राधिकरणले अझै ट्रयाक खुलाउन सकेको छैन । उक्त स्थानमा ९ मिटर ट्रयाक खोल्न नसकिने अवस्था सृजना भएको उनले बताए । उक्त स्थानमा ट्रयाक खोल्न कन्सलटेन्ड हायर गरे पनि बाढीको समस्या देखा परेको उनले बताए । उनले यथास्थितिमा बनाउने भए एकै वर्षमा काम सम्पन्न गर्न सक्ने भए पनि ९ मिटरमा ट्रयाक खोल्न खोज्ने हो भने समाधान निकाल्न अझै नसकिने उनले बताए ।

 

वारीपारी १२/११ किलोमिटर गरी कुल २४ किलोमिटर लम्बाइको यो सडक करिडोर निर्माणका क्रममा हालसम्म ३ अर्ब रुपैयाँ बढी खर्च भइसकेको छ । ५ प्रतिशत मात्र काम बाँकी रहेको यस आयोजना सो आयोजना कुल लागत ४ अर्ब ५८ करोड रुपैयाँ अनुमान गरिएको थियो ।

 

धोवीखोला कोरिडोर निर्माण गर्न थालेको २ दशक बढी समय लाग्दा पनि हालसम्म सम्पन्न हुन सकेको छैन । लामो समयदेखि म्याद थप हुँदै आएको धोवीखोला करिडोर निर्माण २०७७/७८ सालको अन्तसम्ममा सम्पन्न गर्ने प्राधिकरणको दाबी छ ।

 

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Previous

नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

नेप्सेमा नेरुडे लघुवित्तको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा नेरुडे लघुवित्तको बोनस सेयर सूचीकृत