काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । गत बिहीबरदेखि ओरालो लागेको नेप्सेमा लगातार तेस्रो दिन दोहोरो अंकले घटेको हो ।
सोमबार नेप्से १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा आइपुगेको छ । यसदिन २३० कम्पनीको ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँ बराबरको २९ लाख २० हजार ७०५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै १.६४ प्रतिशतले घटेको छ । त्यस्तै, होटल, निर्जीवन बीमा, उत्पादनमूलक समूहको पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज सानिमा बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ९ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, उपकार लघुवित्त साढे ५ करोड र सिभिल बैंक ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज २ कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । ग्रीन भेन्चर्स र बलेफी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज मानुषि लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ५.४० प्रतिशत गुमाएका छन् । त्यसैगरी, ओरेन्टल होटल ५.२०, बुद्धभूमि हाइड्रोपावर ५.०६, उपकार लघुवित्त ४.५१, हिमालयन बैंक, लक्ष्मी लघुवित्त, लिबर्टी इनर्जी, राष्ट्रि बीमा कम्पनीको प्रमोटर सेयर र नेपाल इन्स्योरेन्सको सेयर मूल्य साढे ३ प्रतिशतले घटेको छ ।