ग्लोबल र एनआइसीले कमाए ४ अर्ब बढी नाफा, वैशाखसम्म कुनले कति कमाए ?

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)मा वाणिज्य बैंकहरूले ५८ अर्ब ३३ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको खुद नाफा ४.१३ प्रतिशतले बढेको हो ।

 

गत आवको वैशाखसम्म २७ वटा वाणिज्य बैंकहरूले ५६ अर्ब १ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएका थिए । चालु आवको १० महिनामा बैंकहरूले औसतमा २ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

 

चालु आवको सुरूआत देखि नै तरलता अभावको संकट भोगेका बैंक तथा वित्तीय संस्थाहरूले माग अनुसार कर्जा प्रवाह गर्न सकेका छैनन् । त्यस कारण बैंकहरूको खुद नाफामा न्यून मात्रमा वृद्धि भएको हो। वाणिज्य बैंकहरूले अहिले तरलता अभावका कारण कर्जा विस्तार गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

 

वैशाखसम्म २ वाणिज्य बैंकले ४ अर्ब बढी नाफा कमाएका छन् भने ३ वटा बैंकले ३ अर्ब बढी नाफा कमाउन सफल भएका छन् । त्यस्तै, ७ वटाले २ अर्ब बढी, १४ वटाले १ अर्ब बढी र एउटाले १ अर्बभन्दा कम नाफा कमाएको छ ।

 

एनआइसी र नबिललाई पछि पार्दै ग्लोबल शीर्ष स्थानमा

 

हाल संचालनमा रहेका २७ वटा बैंकमध्ये ग्लोबल आइएमई सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । ग्लोबल निकटतम प्रतिस्पर्धी एनआइसी एशिया र नबिल बैंकलाई पछि पार्दै सार्वधिक नाफा कमाउने बैंक बनेको हो ।

ग्लोबलले चालु आवको वैशाख मसान्तसम्म ४ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो एनआइसी एशियाको भन्दा २० करोड र नबिलको तुलनामा ४९ करोड रुपैयाँ बढी हो ।

 

जनाता बैंकलाई बिग मर्जरमार्फत आफूमा गाभेको ग्लोबल पछिल्लो समय अब्बल बन्दै गएको छ । विगत लामो समयदेखि ‘नम्बर वान’ रहँदै आएको नबिललाई टक्कर दिन थालेको छ । ग्लोलबलले अधिकांश् सूचकमा नबिल र एनआइसी एशियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

 

यस्तै, वैशाखसम्म दोस्रो धेरै नाफा कमाउनेमा एनआइसी एशिया रहेको छ । एनआइसील यस अवधिमा ४ अर्ब ११ करोड खुद नाफा कमाएको छ । त्यस्तै, तेस्रोमा नबिल बैंकले ३ अर्ब ८२ करोड खुद नाफा कमाएको छ ।

 

यस्तै, वैशाखसम्म राष्ट्रिय वाणिज्य बैंक र प्राइम कमर्शियलले पनि ३ अर्ब बढी नाफा कमाएका छन् । यस्तै, एनएमबी, नेपाल बैंक, इन्भेष्टमेन्ट, सिद्धार्थ, कुमारी, मेगा र कृषि विकासले पनि २ अर्ब बढी नाफा कमाएका छन् ।

 

प्रभु, सिटिजन्ससहित १४ बैंकले १ अर्बदेखि २ अर्ब बीचमा नाफा कमाएका छन् । समीक्षा अवधिमा लक्ष्मी बैंकले सबैभन्दा कम नाफा कमाएको छ । वैशाखसम्म लक्ष्मीले ९२ करोड ८७ लाख खुद नाफा कमाएको छ ।

असारमा पनि बैंकहरूले ब्याजदर नबढाउने Read Previous

असारमा पनि बैंकहरूले ब्याजदर नबढाउने

कृषिको मेगा प्रोजेक्ट 'लाइभस्टक सेक्टर इनोभेशन' : उत्पादनमा आत्मनिर्भर, ५०० बढी उद्ममी जन्माउँदै Read Next

कृषिको मेगा प्रोजेक्ट 'लाइभस्टक सेक्टर इनोभेशन' : उत्पादनमा आत्मनिर्भर, ५०० बढी उद्ममी जन्माउँदै