काठमाडौं। ओम डेभलमपमेन्ट बैंकलाई गाभेको एनएमबी बैंकले असोज ११ गतेबाट एकिकृत कारोबार गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले असोज १ गते एनएमबि बैंकलाई ओम डेभलपमेन्ट बैंक गाभ्ने सम्बन्धमा अन्तिम स्वीकृति दिएको थियो । यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयबाट असोज ५ गते एनएमबि बैंकले ओमको सम्पत्ति तथा दायित्व सकार्ने गरी एकीकृत कारोबार गर्न स्वीकृति पाएसँगै एकीकृत कारोबार मिति तय भएको हो ।
यससँगै असोज ११ गते शनिबारदेखि ओम डेभलपमेन्ट बैंक एनएमबि बैंकमा विलय भएर एनएमबि बैंक कै नामबाट कारोबार हुनेछ। एनएमबि र ओमले जेठ २ गते मर्जरका लागि सहमति गरेका थिए। एनएमबि र ओमको स्वाप रेसियो १००ः७६ कायम भएको छ ।
एनएमबि बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ छ भने ओमको २ अर्ब ५१ करोड रुपैयाँ छ । एकीकृत बैंकको चुक्ता पूँजी ११ अर्ब ५१ करोड नाघ्नेछ।
बैंकले मर्जरअघि ओमका कर्मचारीको समायोजन गरिसकेको छ। बैंकका ४२० जना कर्मचारीमध्ये ११९ जनाले स्वेच्छिक अवकाश लिएका छन्। अवकाश पाएकाहरुले १२ देखि १८ महिनासम्मको तलब अतिरिक्त बुझेका छन्।