काठमाडौं । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य दुई थरी तोक्ने तयारी गरेको छ । सरकारले एलपी ग्यास वितरण प्रणाली पुनरावलोकन गर्दै मूल्य दुई थरी तोक्ने तयारी थालेको हो ।
सर्वसाधारणलाई राहत दिन सरकारले ग्यासमा दुई थरी मूल्य निर्धारण गर्न लागेकोे छ । नेपाल आयल निगमका अनुसार घरायसी रुपमा प्रयोग हुने र व्यवसायिक रुपमा प्रयोग हुने ग्यासको मूल्य छुट्टाछुट्टै तोक्ने तयारी गरिएको हो ।
निगमका प्रवक्ता विनित उपाध्यायले घरायसी प्रयोजनका लागि हालकै मूल्य र व्यावसायिक प्रयोजनका लागि परल मूल्य लागू गर्ने तयारी गरेको बताए । उनका अनुसार निगमले निम्न वर्गका सर्वसाधनलाई अनुदानमा र व्यवसायिक परियोजनका लागि परल मूल्य लागू गरिने छ । व्यापारिक प्रयोजनका लागि खरिद मूल्यमै विक्री गर्ने निगमको तयारी रहेको हो ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा घरायसी र व्यापारिक प्रयोगका लागि अलगअलग मूल्य कायम गर्ने घोषणा गरिएको छ । यस निर्णयसँगै ग्यासको मूल्य बढ्ने छ ।
निगमको पछिल्लो मूल्यसूची अनुसार ग्यासको परल मूल्य प्रतिसिलिण्डर २५५१.१५ रुपैयाँ रहेको छ । जस अनुसार व्यापारिक प्रयोजनका लागि प्रयोग हुनग्यासको मूल्य मूल्य सोही रहने छ भने घरायसी प्रयोजनको मूल्य अहिल्यै १८०० रुपैयाँ कायम हुने निगमको भनाइ छ ।
दुई थरी मूल्य निर्धारणका लागि हाल अध्ययन समिति गठन गरिएको निगमले जनाएको छ । निगमले सरोकारवालासँग छलफल समेत सुरू गरेको जनाएको छ ।निगमले विद्यार्थी वर्गलाई लक्षित गरेर ग्यासको मूल्यमा राहत दिने योजना बनाएको छ ।
यसअघि तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले ग्यासमा घरायसी प्रयोजनका लागि रातो र व्यापारिक प्रयोजनका लागि निलो सिलिन्डर लागू गर्ने निर्णय गरेका थिए । तर, कार्यान्वयन भने प्रभावकारी हुन सकेको थिएन ।
देशभर व्यवसायिक प्रयोजनका लागि ३० प्रतिशत ग्यास प्रयोग हुन्छ । घरायसी प्रयोजनका लागि ७० प्रतिशत ग्यासको खपत हुने गरेको छ । दुवै प्रयोजनका लागि हालसम्म एउटै मूल्य कायम गरिएको छ । वार्षिक ४५ लाख मेट्रिक टन ग्यास खपत हुन्छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा मात्र ४ लाख ७८ हजार मेट्रिक टन ग्यास आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
निगमले ग्यासमा सबैभन्दा धेरै घाटा व्यहोर्ने गरेको छ । हालसम्म निगमले प्रतिसिलिन्डरमा ७५१.१४ रुपैयाँ घाटा व्यहोरिरहेको छ । यस अनुसार निगमले मासिक १ अर्ब ४३ करोड रुपैयाँ बढी घाटा बेह्रोर्नु परेको छ ।