काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार एकैदिन ६० अंकले बढेको नेप्से बिहीबार देखि लगातार दोहोरो अंकले घटेको हो । पछिल्ला दुई दिनमै नेप्से ३२ अंकले घटेको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५८ करोडले घटेर १ अर्बभन्दा कममा सीमित भएको छ ।
शुक्रबार नेप्से १४.६४ अंकले घटेर २०४८.१६ विन्दुमा आइपुगेको छ । यसदिन २२९ कम्पनीको ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँ बराबरको ३० लाख ४५ हजार ८३८ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै २.०२ प्रतिशतले घटेको छ । त्यस्तै, व्यापार, होटल, विकास बैंक, फाइनान्स समूह १ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ५ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंक ४ करोड र मेगा बैंक ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्त र ग्रीन भेन्चर्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
घट्दो बजारमा आज सामुदायिक लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ५.७५ प्रतिशत गुमाएका छन् ।