काठमाडौं । नेपालबाट भारत सरकारले अनुमति दिएकै परिमाणमा विद्युत् निर्यात हुन थालेको छ । निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात ३६४ मेगावाट बराबरको बिजुली आजदेखि भारत निर्यात सुरु भएको छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् यही जेठ १९ गतेदेखि भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विक्री सुरु गरेको हो ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले ६ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत् आइएक्स मार्केटमा विक्री गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको थियो ।
गत चैतमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र जारी भएको थियो । त्यसलगत्तै प्राधिकरणले थप चार जलविद्युत्गृहबाट उत्पादित विद्युत् भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।
यी आयोजनाको बिजुली भारत निर्यात
आजदेखि निजी क्षेत्रको ग्रिन भेन्चर्सकोे लिखु–४ बाट उत्पादित विद्युत् निर्यात भएसँगै स्वीकृति पाएजति विद्युत् भारतीय बजारमा विक्री सुरु भएको हो । प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी ‘ए’को १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४ बाट उत्पादित ५१ मेगावाट विद्युत् दैनिकरूपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।
पानी परेसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत्गृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिकरूपमा खपत गरी अतिरिक्त भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत दैनिकरूपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्यातका लागि स्वीकृति पाएका सबै आयोजनाको विद्युत् भारतीय बजारमा विक्री हुन थाल्नु दुई मुलुकबीचको विद्युत् व्यापारका लागि कोशेढुङ्गा भएको जानकारी दिए ।
“स्वीकृत क्षमताअनुसारकै विद्युत् निर्यात सुरु भएसँगै दुई मुलुकका प्रधानमन्त्रीले संयुक्तरूपमा जारी गरेको ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी संयुक्त दृष्टिकोण पत्र कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको छ, यो दुई मुलुकबीचको विद्युत् व्यापारका लागि एउटा कोशेढुङ्गा हो, यसले दुई मुलुकबीचको व्यापार घाटालाई समेत कम गर्ने छ”, कार्यकारी निर्देशक घिसिङले भने ।
आन्तरिकरूपमा खपत गरी अतिरिक्त भएको सबै विद्युत् निर्यात गरिरहेको उनले बताए । यसबाट मुलुकभित्र उत्पादित विद्युत् विक्री गर्न नसकी खेर फाल्नुपर्ने अवस्था तत्कालका लागि अन्त्य भएको छ । आगामी दिनमा थप विद्युत् निर्यातका लागि स्वीकृतिका लागि भारतीय पक्षसँग निरन्तर छलफल भइरहेको उनले जानकारी दिए ।
आइएक्समा २४ घण्टालाई १५–१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।
प्राधिकरणले शुक्रबारका लागि विद्युत्को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः १९.२ रुपैयाँ (१२ भारु) र ३.९९८४ रुपैयाँ (२.४९९ भारु) पाएको छ । औसत मूल्य प्रतियुनिट ११.४२ रुपैयाँ (७.१४ भारु) रहेको छ ।
यसरी बेचिन्छ बिजुली
भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट)मा विद्युत् विक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म एक्सचेन्ज बजारमा विक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा छ ।
विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्को प्रतियुनिट विक्रीदर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात गरिन्छ ।
प्राधिकरणकातर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभीभीएन)ले गर्छ । एनभीभीएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।
मुलुकको प्रणालीमा कुल २ हजार ३०० मेगावाट बराबरको जडित क्षमता पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार हाल कूल आन्तरिक माग १ हजार ६३३ मेगावाट बराबर छ । प्रणालीमा लगातार बिजुली थप भइरहेको छ ।
चालु आवमा कुल ६२१ मेगावाट बिजुली थप भएको छ । केही आयोजनाबाट बिजुली थपिने क्रममा नै छ । आगामी आवमा कुल ७०० मेगावाट बढी बिजुली थप हुने सरकारले प्रक्षेपण गरिएको छ । हाल प्रणालीमा प्राधिकरणको १० हजार ६७७ मेगावाट घण्टा, प्राधिकरणका सहायक कम्पनीबाट ११ हजार २५१ मेगावाट घण्टा, निजी क्षेत्रका आयोजनाबाट १४ हजार ९२२ मेगावाट घण्टा बिजुली उपलब्ध छ ।
भारततर्फ बिजुली निर्यातको मात्रा बढेपछि टनकपुर बिन्दुबाट भने २ हजार ८६ मेगावाट घण्टा बराबरको बिजुली आयात भइरहेको छ । पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइनको क्षमता नभएका कारणले गर्दा टनकपुरबाट बिजुली आयात गर्नु परिरहेको छ ।
पश्चिम क्षेत्रमा ठूला जलविद्युत् आयोजना नभएकाले त्यहाँको आन्तरिक माग धान्नका लागि पनि बिजुली आयात गर्नु परिरहेको छ । प्राधिकरणले कुल ८७ मेगावाट बिजुली आयात गरिरहेको छ । त्यसलाई वर्षाको समयमा रोक्नका लागि पनि पूर्वको बिजुली पश्चिम पठाउने प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध हट्नु पर्छ ।
नवलपरासीको दुम्कीबासमा दुईवटा टावर निर्माणमा स्थानीयवासीले अवरोध गरेका कारण विगत १२ वर्षदेखि निर्माण सम्पन्न हुनसकेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लगातार प्रयास गरे पनि सर्वोच्च अदालतले आवश्यक फैसला नगरिदिँदा प्रसारण लाइन निर्माण हुन नसक्दा नेपालले बिजुली निर्यात गरेको खबर सुनेका पश्चिम नेपालका नागरिक भने खुसी हुनसकेका छैनन् ।