काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । लगातार २०५ अंकको गिरावटपछि बुधबार एकैदिन ६० अंकले बढेको नेप्से आज दोहोरो अंकले घटेको हो ।नेप्सेमा हिजो उछाल आए पनि त्यो एकदिन पनि टिक्न सकेन ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १७ करोडले घटेर डेढ अर्बभन्दा कममा सीमित भएको छ ।
बिहीबार नेप्से १७.६४ अंकले घटेर २०६२.८६ विन्दुमा आइपुगेको छ । यसदिन २२९ कम्पनीको १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको ४१ लाख ५६ हजार १०४ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ ।फाइनान्स समूह सबैभन्दा धेरै २.३४ प्रतिशतले घटेको छ भने विकास बैंक समूह पनि २ प्रतिशतले घटेको छ ।
आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको पौने ७ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रलरी ४ करोड र अरुण काबेली झन्डै ४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयरधनीले सबैभन्दा धेरै ६.६१ प्रतिशत गुमाएका छन् । त्यसैगरी, सिंगटी हाइड्रोपावर ५.३४, समिट लघुवित्त ५.०३, इमर्जिङ नेपाल, लुम्बिनी विकास बैंक, प्रोग्रेसिभ फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरको मूल्य ४ प्रतिशतले घटेको छ ।
त्यस्तै, सामलिङ पावर, किसान लघुवित्त, गुडविल फाइनान्स, नेपाल फाइनान्सको मूल्य साढे ३ प्रतिशतले घटेको छ । घट्दो बजारमा आज २ कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।