कृषिमा नमूना अभ्यास : सहकारी मार्फत गाईपालन गरिँदै, सदस्यलाई रोजगारी र उन्नत गाई

काभ्रे । नेपाल कृषि प्रधान देश भनिए पनि खाद्यान्नमा परनिर्भर रहेको छ । देशका दुई तिहाई बढी जनसंख्या कृषि पेशामा आबद्ध भए पनि त्यो व्यवसायिक नभई निर्वाहमुखी मात्र छ ।

 

परम्परागत खेती प्रणाली, उन्नत जातको बीउ, मल अभाव, आधुनिक कृषि प्रणाली तथा उपकरणको अभाव, सिचाइँको अभाव लगायत कारणले कृषि व्यवसायिक हुन सकेको छैन । कृषि आम्दानी गर्ने पेशा नभई एउटा निर्वाहमुखी पेशामै सीमित हुन पुगेको छ ।

 

मौसमी खेती र पशुपालनले आर्थिक स्थितिमा सुधार आउनभन्दा जीवन धान्नै मुस्किल पर्ने गरेको छ । कृषकले पशु पाले पनि आफ्नै खेतका लागि मल उत्पादन गर्न नसक्ने, वर्षभरी खेती गरेर ६ महिना हातमुख जोर्न नपुग्ने समस्या नौला होइनन् ।

सरकारले पनि कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न वर्षेनी अर्बौं रुपैयाँ अनुदान दिने गरेको छ । तर, त्यो निष्प्रभावी हुने गरेका विगतका उदाहरणहरू छन् । कृषि तथा पशुपालनलाई निर्वाहमुखी दृष्टिले हेर्ने प्रवृत्ति पनि कायमै छ । यसैको उत्थानको लागि देशभर हजारौं सहकारी र कृषक समूहहरू हुँदाहुँदै पनि केही परिवर्तन भएको छैन् ।

 

तर, ती मध्ये केही सहकारी तथा समूहहरू भने कृषिको व्वयसायिक उत्पादनमा सक्रिय भएर लागेका छन । जसले सरकारी अनुदान सदुपयोग गर्नुका साथै मुलुकको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण टेवा पुर्याइरहेका छन् ।देशभर हाल ३० हजार बढी सहकारी संचालनमा रहेका छन् । तिनै मध्येको एक् हो काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका २ स्थित सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था ।

 

दूध उत्पादन गर्ने मुख्य उद्देश्य रहेको संस्थाले दैनिक किसानको घरबाट दूध संकलन गर्दै आएको छ । अब भने यस सहकारी दूध संकलनमा मात्र सीमित नभई आफैं गाइपालनमा जुट्ने भएको छ । जसका लागि सहकारीले सामूहिक लगानी र नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत विश्व बैंकको सहयोगमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको अनुदानमा गाईपालनको लागि गोठ निर्माण गरिरहेको छ ।

 

जसले कृषि क्षेत्रमा केही फरक र रोजगारी सृजना गर्ने अपेक्षा गरिएको छ । २०५० सालमा स्थापना भएको सेतीदेवी सहकारीमा ५०० परिवारबाट प्रति परिवार २ जना गरी १ हजार सदस्य रहेका छन् । यस संस्थाले स्वरोजगार बनाउनुका साथै किसानको आयस्तरमा वृद्धि गर्ने लक्ष्य लिएको छ ।

 

कृषि क्षेत्रको नमूना अभ्यास

 

सरकारले कृषिको विकासका लागि सहकारी र समूहमार्फत व्यवसाय गर्ने किसानहरूलाई विशेष प्राथमिकता दिने गरेको छ । यस्ता कृषि समूहहरूले आफ्नो फाइदाका लागि सामूहिक व्यवसाय गरे पनि संस्थाग रूपमा भने यो एक नमूना अभ्यास भएको सरकारी अधिकारीहरू नै बताउँछन् ।

 

कतिपय ठाउँमा समूहहरूले व्यवसाय सुरू गर्ने र सोको लागि अनुदान लिन नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनासँग सम्झौता गरे पनि पछि सम्झौता नै रद्द गरेका छन् । यस सहकारीमा संस्थाका सबै सदस्यहरूको २० प्रतिशत आफ्नो लगानी रहेको छ भने ३० प्रतिशत बैंकबाट ऋण लिनु पर्ने प्रावधान छ । बाँकी ५० प्रतिशत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले दिनेगर्छ ।

आर्थिक रुपान्तरणका अनेक आयामहरू मध्ये कृषि उद्मम पनि हो । यसले मूलुकको अर्थतन्त्र र व्यक्तिगत आयमा सुधार ल्याउँछ । सहकारी मार्फत गरिने व्यवसायले सबै लाभान्वित हुने छन । देशभका २८ जिल्लामा संञ्चालित सो परियोजना विश्व बैंकको सहयोगमा २२४ समूह सहकारी र ३८० कृषि समूहगी गरी जम्मा ६०४ व्यवसायहरू अनुदानमा निर्माण भइरहेका छन ।

 

संरचना निर्माण अन्तिम चरणमा

 

किसानको हित र व्यवसायी रूपले सहकारी मार्फत गाईपालन गर्न संस्थाले सरकारको सहयोगमा गोठ निर्माण गरेको छ । कुल आयोजनाको करिब २ करोड लागतमध्ये संरचना निर्माणमा ७४ लाख खर्च भइसकेको अध्यक्ष चतुर्भुज तिमिल्सिनाले जानकारी दिए  ।

 

‘संस्थाले आह्वान गरेको प्रस्तावना अनुसार हामीले प्रस्ताव पेस गरेका थियौं । जस अनुसार दुवै मिलेर काम गर्दा हाम्रो कुल लागत अनुमान २ करोड रुपैयाँ बराबर रहेको छ,’ उनी भन्छन्,‘त्यसमा ९३ लाख नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना र ९६ लाख सहकारीको लगानी छ । गोठ निर्माणका लागि मात्र ७४ लाख रुपैयाँ खर्च भइसकेको छ ।’

 

वैशाख मसान्तसम्म निर्माण सम्पन्न गिरसक्नुपर्ने भए पनि केही ढिला हुँदा अब संरचना निर्माणको काम असार मसान्तसम्म सकिने उनले बताए । ६० वटा गाई क्षमता अट्ने सो गोठको निर्माण आधुनिक तरीकाले गरिएको छ । जसमा साइलेज र स्टोरका लागि एउटा भवन बनाइएको छ भने अर्को गोठ निर्माण गरिएको छ । कुल १५ रोपनी जग्गा लिजमा लिएर सो संरचना निर्माण गरिएको उनले बताए । यस्तै संस्थाले घाँसको लागि १०० रोपनी १० वर्षका लागि लिजमा लिएको छ ।

सहकारी संस्थाको ५० र सरकारको ५० प्रतिशत अनुदानमा यस्ता आयोजनाहरू २८ जिल्लामा संस्थाले बनाइरहेको छ । २ दिनको दूध स्टक राख्न सक्ने गरेर संरचना बनाइने उनले बताए ।

 

उन्नत गाई वितरणको योजना

 

यस संस्थाले दूध मात्र संकलन नगरी उन्नत किसिमका बाच्छारबाच्छी उत्पादन गरेर किसानलाई वितरण गर्ने योजना रहेको तिमिल्सिना सुनाउँछन् । ‘दूधको उत्पादन र संकलन गर्ने यश संस्थाको मुल उदेश्य हो । हामीले अहिले पनि दैनिक किसानले घरमा पालेका गाईहरूको दूध संकलन गरिरहेका छौं,’ उनले चाणक्य पोष्टसँग भने, ‘त्यो सँगै उन्नत जातका गाइहरू उत्पादन गरेर किसानलाई दिने हाम्रो लक्ष्य छ ।’

 

हाल दैनिक ६ देखि ७ हजार लिटर दूध संस्थाले संकलन गरिरहेको छ । हाल निर्माण गरिएको संरचनामा अहिले ६० वटा दुहुना गाईहरू राख्नको लागि टेन्डर आह्वान गरिने उनले जानकारी दिए ।

विगतमा छिमेकीहरूका गाई देखाए अनुदान लिने प्रवृत्ति देखिएपछि टेन्डर आह्वान गर्नै पर्ने व्यवस्था गरिएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका अधिकृत सुशील खड्काले बताए ।

 

‘गाई किन्दाखेरी के भयो भने, छिमेकीका गाईहरू ल्याएर किनेको भनेर बिल पेस भए । हामी सधैं अनुगमनमा आउन भ्याउँदैनौं,’ उनले भने, ‘यस्तो मुद्दा अख्तियारसम्म पुग्यो र सहकारी वा समूह र हामी पनि विवादित भयौं । त्यसकारण टेन्डरको व्यवस्था गरिएको हो।’

 

कस्तो गाई चाहिएको छ भनेर प्राविधिक स्पेसिफिकेसन सहकारीले नै बनाउने र टेन्डर प्रक्रियामा जाँदा यस्तो समस्या नआउने उनले बताए । त्यसबाट प्राप्त गोबरलाई धूलो बनाएर मलको रूपमा किसानलाई प्रयोग गर्न दिने सहकारीको योजना छ ।

 

एक दिन पनि टिकेन नेप्सेको उछाल, दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Previous

एक दिन पनि टिकेन नेप्सेको उछाल, दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

६ महिनामा २५ अर्बको बिजुली बेच्ने प्राधिकरणको लक्ष्य Read Next

६ महिनामा २५ अर्बको बिजुली बेच्ने प्राधिकरणको लक्ष्य