काभ्रे । नेपाल कृषि प्रधान देश भनिए पनि खाद्यान्नमा परनिर्भर रहेको छ । देशका दुई तिहाई बढी जनसंख्या कृषि पेशामा आबद्ध भए पनि त्यो व्यवसायिक नभई निर्वाहमुखी मात्र छ ।
परम्परागत खेती प्रणाली, उन्नत जातको बीउ, मल अभाव, आधुनिक कृषि प्रणाली तथा उपकरणको अभाव, सिचाइँको अभाव लगायत कारणले कृषि व्यवसायिक हुन सकेको छैन । कृषि आम्दानी गर्ने पेशा नभई एउटा निर्वाहमुखी पेशामै सीमित हुन पुगेको छ ।
मौसमी खेती र पशुपालनले आर्थिक स्थितिमा सुधार आउनभन्दा जीवन धान्नै मुस्किल पर्ने गरेको छ । कृषकले पशु पाले पनि आफ्नै खेतका लागि मल उत्पादन गर्न नसक्ने, वर्षभरी खेती गरेर ६ महिना हातमुख जोर्न नपुग्ने समस्या नौला होइनन् ।

सरकारले पनि कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न वर्षेनी अर्बौं रुपैयाँ अनुदान दिने गरेको छ । तर, त्यो निष्प्रभावी हुने गरेका विगतका उदाहरणहरू छन् । कृषि तथा पशुपालनलाई निर्वाहमुखी दृष्टिले हेर्ने प्रवृत्ति पनि कायमै छ । यसैको उत्थानको लागि देशभर हजारौं सहकारी र कृषक समूहहरू हुँदाहुँदै पनि केही परिवर्तन भएको छैन् ।
तर, ती मध्ये केही सहकारी तथा समूहहरू भने कृषिको व्वयसायिक उत्पादनमा सक्रिय भएर लागेका छन । जसले सरकारी अनुदान सदुपयोग गर्नुका साथै मुलुकको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण टेवा पुर्याइरहेका छन् ।देशभर हाल ३० हजार बढी सहकारी संचालनमा रहेका छन् । तिनै मध्येको एक् हो काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका २ स्थित सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था ।
दूध उत्पादन गर्ने मुख्य उद्देश्य रहेको संस्थाले दैनिक किसानको घरबाट दूध संकलन गर्दै आएको छ । अब भने यस सहकारी दूध संकलनमा मात्र सीमित नभई आफैं गाइपालनमा जुट्ने भएको छ । जसका लागि सहकारीले सामूहिक लगानी र नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत विश्व बैंकको सहयोगमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको अनुदानमा गाईपालनको लागि गोठ निर्माण गरिरहेको छ ।
जसले कृषि क्षेत्रमा केही फरक र रोजगारी सृजना गर्ने अपेक्षा गरिएको छ । २०५० सालमा स्थापना भएको सेतीदेवी सहकारीमा ५०० परिवारबाट प्रति परिवार २ जना गरी १ हजार सदस्य रहेका छन् । यस संस्थाले स्वरोजगार बनाउनुका साथै किसानको आयस्तरमा वृद्धि गर्ने लक्ष्य लिएको छ ।

कृषि क्षेत्रको नमूना अभ्यास
सरकारले कृषिको विकासका लागि सहकारी र समूहमार्फत व्यवसाय गर्ने किसानहरूलाई विशेष प्राथमिकता दिने गरेको छ । यस्ता कृषि समूहहरूले आफ्नो फाइदाका लागि सामूहिक व्यवसाय गरे पनि संस्थाग रूपमा भने यो एक नमूना अभ्यास भएको सरकारी अधिकारीहरू नै बताउँछन् ।
कतिपय ठाउँमा समूहहरूले व्यवसाय सुरू गर्ने र सोको लागि अनुदान लिन नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनासँग सम्झौता गरे पनि पछि सम्झौता नै रद्द गरेका छन् । यस सहकारीमा संस्थाका सबै सदस्यहरूको २० प्रतिशत आफ्नो लगानी रहेको छ भने ३० प्रतिशत बैंकबाट ऋण लिनु पर्ने प्रावधान छ । बाँकी ५० प्रतिशत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले दिनेगर्छ ।

आर्थिक रुपान्तरणका अनेक आयामहरू मध्ये कृषि उद्मम पनि हो । यसले मूलुकको अर्थतन्त्र र व्यक्तिगत आयमा सुधार ल्याउँछ । सहकारी मार्फत गरिने व्यवसायले सबै लाभान्वित हुने छन । देशभका २८ जिल्लामा संञ्चालित सो परियोजना विश्व बैंकको सहयोगमा २२४ समूह सहकारी र ३८० कृषि समूहगी गरी जम्मा ६०४ व्यवसायहरू अनुदानमा निर्माण भइरहेका छन ।
संरचना निर्माण अन्तिम चरणमा
किसानको हित र व्यवसायी रूपले सहकारी मार्फत गाईपालन गर्न संस्थाले सरकारको सहयोगमा गोठ निर्माण गरेको छ । कुल आयोजनाको करिब २ करोड लागतमध्ये संरचना निर्माणमा ७४ लाख खर्च भइसकेको अध्यक्ष चतुर्भुज तिमिल्सिनाले जानकारी दिए ।
‘संस्थाले आह्वान गरेको प्रस्तावना अनुसार हामीले प्रस्ताव पेस गरेका थियौं । जस अनुसार दुवै मिलेर काम गर्दा हाम्रो कुल लागत अनुमान २ करोड रुपैयाँ बराबर रहेको छ,’ उनी भन्छन्,‘त्यसमा ९३ लाख नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना र ९६ लाख सहकारीको लगानी छ । गोठ निर्माणका लागि मात्र ७४ लाख रुपैयाँ खर्च भइसकेको छ ।’
वैशाख मसान्तसम्म निर्माण सम्पन्न गिरसक्नुपर्ने भए पनि केही ढिला हुँदा अब संरचना निर्माणको काम असार मसान्तसम्म सकिने उनले बताए । ६० वटा गाई क्षमता अट्ने सो गोठको निर्माण आधुनिक तरीकाले गरिएको छ । जसमा साइलेज र स्टोरका लागि एउटा भवन बनाइएको छ भने अर्को गोठ निर्माण गरिएको छ । कुल १५ रोपनी जग्गा लिजमा लिएर सो संरचना निर्माण गरिएको उनले बताए । यस्तै संस्थाले घाँसको लागि १०० रोपनी १० वर्षका लागि लिजमा लिएको छ ।

सहकारी संस्थाको ५० र सरकारको ५० प्रतिशत अनुदानमा यस्ता आयोजनाहरू २८ जिल्लामा संस्थाले बनाइरहेको छ । २ दिनको दूध स्टक राख्न सक्ने गरेर संरचना बनाइने उनले बताए ।
उन्नत गाई वितरणको योजना
यस संस्थाले दूध मात्र संकलन नगरी उन्नत किसिमका बाच्छारबाच्छी उत्पादन गरेर किसानलाई वितरण गर्ने योजना रहेको तिमिल्सिना सुनाउँछन् । ‘दूधको उत्पादन र संकलन गर्ने यश संस्थाको मुल उदेश्य हो । हामीले अहिले पनि दैनिक किसानले घरमा पालेका गाईहरूको दूध संकलन गरिरहेका छौं,’ उनले चाणक्य पोष्टसँग भने, ‘त्यो सँगै उन्नत जातका गाइहरू उत्पादन गरेर किसानलाई दिने हाम्रो लक्ष्य छ ।’
हाल दैनिक ६ देखि ७ हजार लिटर दूध संस्थाले संकलन गरिरहेको छ । हाल निर्माण गरिएको संरचनामा अहिले ६० वटा दुहुना गाईहरू राख्नको लागि टेन्डर आह्वान गरिने उनले जानकारी दिए ।

विगतमा छिमेकीहरूका गाई देखाए अनुदान लिने प्रवृत्ति देखिएपछि टेन्डर आह्वान गर्नै पर्ने व्यवस्था गरिएको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका अधिकृत सुशील खड्काले बताए ।
‘गाई किन्दाखेरी के भयो भने, छिमेकीका गाईहरू ल्याएर किनेको भनेर बिल पेस भए । हामी सधैं अनुगमनमा आउन भ्याउँदैनौं,’ उनले भने, ‘यस्तो मुद्दा अख्तियारसम्म पुग्यो र सहकारी वा समूह र हामी पनि विवादित भयौं । त्यसकारण टेन्डरको व्यवस्था गरिएको हो।’
कस्तो गाई चाहिएको छ भनेर प्राविधिक स्पेसिफिकेसन सहकारीले नै बनाउने र टेन्डर प्रक्रियामा जाँदा यस्तो समस्या नआउने उनले बताए । त्यसबाट प्राप्त गोबरलाई धूलो बनाएर मलको रूपमा किसानलाई प्रयोग गर्न दिने सहकारीको योजना छ ।