नागढुंगा-नौबिसे सुरुङ खन्ने काम आधा बढी सकियो, अब कति मिटर बाँकी छ ?

निर्माणधीन नागढुंगा-नौबिसे सुरुङमार्ग ।

 

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम आधाभन्दा बढी सम्पन्न भएको हो ।

 

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार जेठ २६ गतेसम्म सुरुङ खन्ने काम ५३ प्रतिशत पूरा भएको छ । हालसम्म २ हजार ९०१ मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

 

पछिल्लो समय कामको गति बढाएको आयोजनाले कुल ५ हजार ४९९ मिटरमध्ये हालसम्म २ हजार ९०१ मिटर सुरुङ खन्ने काम पूरा गरेको हो । कामलाई तीव्रता दिन हाल दैनिक करिब १० मिटर सुरुङ खन्न थालिएको छ ।

 

नागढुंगा सुरुङमार्गको कुल २ हजार ६८८ मिटर मुख्य सुरुङमध्ये हालसम्म १ हजार २८३ मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ६६० मिटर र धादिङतर्फ ६२३ मिटर मुख्य टनेल खनिएको छ ।

 

त्यसैगरी, आपतकालीन (स्केप टनेल) सुरुङ अन्तर्गत हालसम्म १ हजार ४४४ मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ८३८ मिटर र धादिङतर्फ ६०६ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

 

हालसम्म आयोजनाको समग्रमा ३७ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ ४५.५० प्रतिशत प्रगति भएको छ ।

 

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ४८ मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३२ मिटर र धादिङतर्फ १६ मिटर निर्माण गरिएको छ ।

 

यो सुरुङमार्ग करिब २ हजार ६८८ मिटर हुनेछ । काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

 

आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै २ हजार ५९८ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

 

नागढुंगा सुरुङमार्गको निर्माण अवधि २०७९ चैत २३ गतेसम्म रहेको छ । कोभिडका कारणले ढिलाइ हुन गएकोमा थप ८६ दिन म्याद थप गरिएको छ । उक्त समय अनुसार नागढुंगा सुरुङमार्गको कुल निर्माण सम्पन्न हुन अब १४ महिना बाँकी रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन Read Previous

प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिको खाता निगरानी गर्न राष्ट्र बैंकको निर्देशन

एक दिन पनि टिकेन नेप्सेको उछाल, दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

एक दिन पनि टिकेन नेप्सेको उछाल, दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी