नतिजा नआउँदा १ महिनादेखि थन्किए साझाका विद्युतीय बस, कहिलेदेखि गुड्छन् ?

काठमाडौं । साझा यातायातले पहिलो चरणमा ल्याएको तीन वटा विद्युतीय बस अझै सञ्चालनमा आउन सकेको छैन । वैशाख दोस्रो साता काठमाडौं आइपुगेका ती बस अझै संचालनमा आउन नसकेका हुन् ।

 

गत चैत ३० गते तातोपानी नाका हुँदै साझाका ३ वटा विद्युतीय बस नेपाल भित्रिएका थिए । काठमाडौं आइपुगेको १ महिना बिते पनि सडक र गुणस्तर परीक्षणको नतिजा नआउँदा ती बस साझाको पुल्चोकस्थित कार्यालयमै थन्किएका हुन् ।

 

यातायात व्यवस्थापन विभागले गाडीको सडक परीक्षण र गुणस्तर परीक्षण गरे पनि हालसम्म त्यसको नतिजा आएको छैन । वैशाख २२ गते टेकुस्थित भेहिकल फिटनेस सेन्टरमा विद्युतीय बस गुडाउन योग्य छन्/छैनन् भनेर जाँच गरिएको थियो ।

 

उक्त नतिजा नआउँदा बस गुडाउने रुट समेत निश्चित हुन नसकेको साझा बसका कार्याकारी निर्देशक भुषण तुलाधारले बताए । उनले सडक परीक्षणको नतिजा आएपछि मात्र रुट निर्धारण हुने बताए । रुट निर्धारण भएपछि मात्र बसलाई काठमाडौंभित्रका सडकमा गुडाइने छ ।

 

‘बसको सडक र गुणस्तर परीक्षण भइसक्यो, त्यसको नतिजा विभागले निकालेपछि मात्र रुटको प्रक्रिया अघि बढ्छ, अझै रुट निश्चित भएको छैन, रुट तय भएपछि गुडाउने हो,’ तुलाधारले चाणक्य पोष्टसँग भने ।विभागले बसको नतिजा कहिलेसम्म दिन्छ भन्ने थाहा नभएको उनको भनाइ छ ।

 

तीन वटा बस चीनमै ‘ग्रेडबिलिटी टेस्ट’ (उकालो तान्न सक्ने क्षमता) परीक्षण गरेपछि नेपालमा ल्याइएको हो । साझाले ल्याउने भनेको ४० वटा विद्युतीय बसमध्ये हाल तीन वटा मात्र बस आएको हो । पहिलो चरणमा ल्याइएका बस गुडाएर थप ३७ वटा विद्युतय बस ल्याउने साझाको योजना रहेको छ ।

 

सरकारी विशेषज्ञले परीक्षण गरेर अनुमति दिएपछि यी बसले काठमाडौंमा सेवा दिन थाल्नेछन् । चिनियाँ कम्पनी सीएचटीसी (नान्जिङ) अटो कम्पनी लिमिटेडले साझा यातायातका लागि ४० वटा विद्युतीय बस निर्माण गर्ने ठेक्का पाएको छ ।

 

साझाले ल्याएको विद्युतीय बस साढे ८ मिटर लम्बाइ रहेको छ । २६ सिट क्षमताका यी बस अपाङ्गतामैत्री रहने छन् । साझा यातायातले भ्याट सहित ६१ करोड रुपैयाँ लगानीमा ४० वटा विद्युतीय बस ल्याउने भएको हो । एउटा गाडीको मूल्य भ्याट सहित डेढ करोड रुपैयाँ हाराहारी पर्ने अनुमान गरिएको छ ।

 

बसका लागि आवश्यक चार्जिङ स्टेशन सोही कम्पनीले निर्माण गर्नेछ । उक्त कम्पनीले बस ल्याएको ५ वर्षको मर्मत सम्भार समेत निःशुल्क गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख भएको उनले बताए । कम्पनीले २० वटा चार्जिङ स्टेसन बनाएर दिने छ । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दाबढी यात्रु लिइ २०० किमी गुड्न सक्नेछन् ।

 

यी बसहरुमा वाइफाइ, टीभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि हुनेछन् । क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्दै जाने साझाले जनाएको छ ।

 

४० वटा विद्युतीय बस ल्याएर सफलता पूर्वक सञ्चालनमा आएपछि साझाले १२ मिटर लामा र अन्तरप्रदेश चल्ने विद्युतीय बसहरु पनि ल्याउने योजना बनाएको छ । सरकारले २०७५ पुस ९ गते ३०० वटा बिजुली बस सरकारी लगानीमा किन्ने निर्णय गरेको थियो । आफैंले विद्युतीय बस ल्याउन नसक्ने भएपछि सरकारले २०७६ साउनमा साझालाई बस ल्याउन दिने निर्णय गरेको थियो ।

 

एनएमबी बैंकले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषिमा कर्जा लगानी गर्ने Read Previous

एनएमबी बैंकले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषिमा कर्जा लगानी गर्ने

छायाँ सेन्टरले १२ वटा निःशुल्क शौचालय उपलब्ध गराउने Read Next

छायाँ सेन्टरले १२ वटा निःशुल्क शौचालय उपलब्ध गराउने