काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान प्रोत्साहन गर्न विभिन्न छुट दिने भएको छ । समितिले २०७९ असारभित्र मर्जरको प्रक्रियामा जाने बीमा कम्पनीहरुलाई ३ प्रकारका सेवा सुविधामा छुट दिने भएको हो ।
समितिले मर्जरमा जान इच्छुक कम्पनीलाई पूँजीगत लाभकर, लाभांश कर र कर्मचारी अवकाश भुक्तानीमा कर छुट दिने भएको हो । समितिका अनुसार कम्पनीहरु गाभिएपछि बनेको नयाँ कम्पनीका सेयरधनीहरुले आफ्नो सेयर गाभिएको मितिले दुई वर्षभित्र विक्री गरेको वा विक्री भएको सेयरमा पूँजीगत लाभकर नलाग्ने भएको छ ।
त्यस्तै, कम्पनीहरुमा मर्ज भएको मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको सेयरधनीलाई वितरण गरेको लाभांशमा समेत कर नलाग्ने समितले जनाएको छ ।
त्यसैगरी, मर्जर प्रक्रियामा रहेका कम्पनीहरुले कर्मचारीहरुलाई सामूहिक रुपमा सेवाबाट अवकाश दिने प्रयोजनको लागि गरिने थप एक मुष्ट भुक्तानीमा एकमुष्ट अवकाश भुक्तानी कर कट्टी गर्नु पर्ने दरमा ५० प्रतिशत छुट दिने पनि समितिले जनाएको छ ।
२०७९ असार मसान्तभित्र मर्जरमा जाने आशयपत्र आन्तरिक राजस्व विभागमा दिएका कम्पनीहरुले मात्रै आयकर ऐन, २०५८ अनुसार छुट पाउने छन् । यसरी आशयपत्र बुझाएका कम्पनीहरुले २०८० असार मसान्तभित्र मर्जरको प्रकृया सम्पन्न गरिसक्नु पर्ने समितिले जनाएको छ ।
साथै, चुक्ता पुँजी पुर्याउन मर्जरमा जाने कम्पनीहरुले आयकर ऐन २०५८ को दफा ४७ अनुसारको छुट तथा सुविधा समेत पाउने छन् । जसको लागि उनीहरुले २०७९ असारभित्र बीमा समितिमा आवेदन दिइसक्नुपर्ने छ ।