काठमाडौं । यातायात व्यवस्था विभागले साउनदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने बताएसँगै आवेदन दिनेको संख्या ह्वात्तै बढ्न थालेको छ ।असार भित्रै इम्बोस्ड लगाउनु पर्ने भएपछि सवारीधनीले धमाधम अनलाइन आवेदन दिन थालेका हुन् ।
वाग्मती प्रदेशमा इम्बोस्ड नम्बर प्लेट लगाउन दुई वटा यातायात कार्यालय तोकिएको छ ।विभागले साना र ठूला सवारीसाधनको लागि एकान्तकुना यातायात कार्यालय, ललितपुर र मोटरसाइकलको लागि गुर्जुधारा कार्यालय तोकिएको छ ।
एकान्तकुना कार्यालयका कार्यालय प्रमुख सम्बर बहादुर कार्कीका अनुसार पछिल्लो दुई दिनदेखि आवेदन निको संख्या बढेको छ । यसअघि दैनिक २०/३० वटा आवेदन आउने गरेकोमा अब दैनिक ६०/७० वटा आवेदन आउन थालेका छन् ।
सायद साउनदेखि कारबाही गर्ने सूचना आएकोले सेवाग्राही थपिएको बताउँदै कार्की भन्छन्, ‘नम्बर प्लेट पहिल्यै प्रिन्ट भएर बसेको छ । आवेदन दर्ता गरेको दुई दिन भित्रै नम्बर प्लेट जडान गर्न सकिन्छ ।’
अनलाइनमा आवेदन दिएपछि के गर्ने ?
अहिले सबैले अनलाइन आवेदन दिन जानिसकेका छन् । यसरी अनलाइन आवेदन सकिएपछि ग्राहकले पीडीएफ फाइल पाउने छन् । त्यसलाई प्रिन्ट गरेर यातायात कार्यालयमा पठाउनु पर्छ । कार्यालयले भरिएको फर्म रुजु गरेर राजस्व दाखिला गर्न लगाउँछ ।
आफूले भरेको प्रिन्ट बोकेर आएपछि यातायात कार्यालयले त्यसको प्रमाणित गर्ने व्यवस्था गरेको छ । यदि फारम भर्दा केही गल्ती भएका रहेछन् भने पनि त्यसलाई सच्याउन सकिन्छ । तर, यातायात कार्यालय जाँदा व्यक्तिको नाममा सवारीसाधन छ भने ३ प्रति फोटो, बिलबुक र अनलाइन दर्ताको प्रिन्ट लिएर जानु पर्ने हुन्छ ।
कार्यालयको नाममा भएको खण्डमा कार्यालयको छाप, बीलबुक र अनलाईन दर्ताको प्रिन्ट लिएर जानु पर्ने काकीले जानकारी दिए ।
कुन सवारीसाधनलाई कति खर्च ?
विभागले नम्बर प्लेटमा लाग्ने खर्च दुई पाङ्ग्रे, तीन पांग्रे, चार पाङ्ग्रे र ठुला सवारी साधन गरेर चार भागमा विभाजन गरेको छ । विभागका अनुसार दुई पाङ्ग्रे सवारी साधनका लागि २ हजार ५ सय रुपैयाँ लाग्ने छ ।
तीन पाङ्ग्रे सवारी साधनले २ हजार ९ सय रुपैयाँ, चार पाङ्ग्रेका लागि ३ हजार २ सय र ठूला सवारीसाधनका लागि ३ हजार ६ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ ।