काठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । सेयर बजारमा देखिएको विभिन्न समस्या समाधान गर्न माग गर्दै संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वको टोलीले ४ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापनपत्रमा सेयर धितो कर्जामा लगाइएको ४ करोड र १२ करोडको क्यापलाई पूर्ण रुपमा खारेज गर्न, सीसीडीलाई सीडीमा कायम गरिएकोमा यसलाई खारेज गरी पुनः सीसीडी कायम गर्न माग गरिएको छ।
यसैगरी, भारित औसतदर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पुरानै भारित औसत दर १०० कायम गर्न र पूँजीबजारलाई ७ प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्ने बैंकलाई ब्रोकर लाइसेन्स दिन माग गरेका छन् ।
निरन्तर बजारमा आएको गिरावटले लगानीकर्ताहरु मारमा पर्नुका साथै आन्दोलित हुने अवस्था आएका कारण समस्या समाधानको पहल गरिदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको संघले जनाएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले सम्बन्धीत निकायसँग समन्वय गरी समस्या समधानका लागि आवश्य पहल गरिदिने प्रतिबद्धता व्यक्त गरेका संघकी अध्यक्ष पोखरेलले जानकारी दिइन् ।
बजार लगानीकर्ता संघका पदाधिकारीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई फोन गरी पूँजीबजारमा देखिएका समस्या हल गर्न निर्देशन समेत दिएका छन् ।
संघका सहभागि प्रतिनिधिका अनुसार प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई आमलगानीकर्ताको समस्या सुन्ने मात्र होइन र उचित समाधान पहिचान गरी कार्यान्वयन गर्नसमेत निर्देशन दिएका हुन् ।