कालीगण्डकीको बिजुली भारत निर्यात सुरू, प्रतियुनिट १९ रुपैयाँ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत्गृहबाट उत्पादित विद्युत् शनिबार राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो ।

 

प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स)मा बिहीबारदेखि त्रिशूली र देवीघाट जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरुपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ । कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत् भारत निर्यात गर्नेछ । कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत् भारत निर्यात हुनेछ ।

 

वर्षात्सँगै नदीनालामा पानीको बहाव बढेर विद्युत्गृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिकरुपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो ।

 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार रातिदेखि निर्यात हुने विद्युत्को औसत विक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताए । ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ,’ घिसिङले भने ।

 

आइएक्समा २४ घण्टालाई १५र१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरकफरक हुने गरेको छ । प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युत्को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः भारु १२ (१९.२ नेरु) र २.४९ (३.९८नेरु) छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) छ ।

 

यसैगरी, शनिबार प्राधिकरणले अधिकतम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ .(२.५५ भारु)मा विद्युत् विक्री गरेको छ । औसतम मूल्य ११.४८ रुपैयाँ (७.१८ भारु) रहेको छ । नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेञ्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत् विक्री गर्न अनुमति पाएको छ ।

सगरमाथा जलविद्युतले ५५ करोडको आइपीओ निष्काशन गर्ने Read Previous

सगरमाथा जलविद्युतले ५५ करोडको आइपीओ निष्काशन गर्ने

३० करोड खर्चेर भरतपुरमा अत्याधुनिक भवन बनाउँदै ग्लोबल आइएमई बैंक Read Next

३० करोड खर्चेर भरतपुरमा अत्याधुनिक भवन बनाउँदै ग्लोबल आइएमई बैंक