तारा एयरको पोखरा-जोमसोम उडान १ साता बन्द

काठमाडौं । निजी क्षेत्रको वायु सेवा प्रदायक तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि बन्द गरेको छ ।

 

मौसमका कारण जेठ २० देखि २७ गतेसम्म एकसाताका लागि उक्त रुटको उडान बन्द गरिएको तार एयरले जनाएको छ । आज जोमसोमका लागि निर्धारण गरिएका सबै उडान समेत रद्द भएको छ ।

 

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले एकसाताका लागि जोमसोम उडान बन्द गरिएको बताए । ‘आजदेखि एक साताका लागि तारा एयरले पोखरा–जोमसोम उडान बन्द गर्ने निर्णय गरेको छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘मौसमको समस्या र हाम्रो आन्तरिक कारणले उडान बन्द गर्ने भएका हौँ ।’

 

मौसम सम्बन्धी जानकारी दिननसक्दा आज पनि तारा एयरको अन्य उडान पनि प्रभावित भएको उनले बताए । ‘हामीले टावरसँग उडान अनुमति माग्नु अघि मौसम सम्बन्धी रिर्पोट माग्छ । समयमा इनरुट मौसम दिन नसकेपछि १० बजेपछिका सबै फ्लाइट अफ गर्यो,’उनले भने ।

 

आइतबार तारा एयरको जहाज दुर्घटनामा परी २२ जनाको मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘इनरुट’ मौसम सफा नभई उडान अनुमति नदिने बताएको थियो ।

 

तर, जल तथा मौसम विज्ञान विभागले प्राधिकरणले भने जस्तो आन्तरिक उडानको ‘इनरूट’ मौसमी पूर्वानुमान गर्न नसक्ने बताएको छ । यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागले स्पष्ट पारेको छ।

 

मौसम पूर्वानुमान महाशाखाले हवाई मौसम सेवा अन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरूट पूर्वानुमान दिँदै आएको छ।

किसान लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम Read Previous

किसान लघुवित्तको लाभांश पाउन सेयर किन्ने आज अन्तिम

नेप्सेमा लगातार चौथो दिन गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी Read Next

नेप्सेमा लगातार चौथो दिन गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी