गन्थनले भरिएको बजेटमा पोलिसी ‘डिपार्चर’ कहाँ छ ?

काठमाडौं । बजेट देश चलाउने आर्थिक पाटो मात्रै होइन, राजनीतिक दलको घोषणा पत्रलाई साकार बनाउने माध्यम पनि हो । तर, विगत एक दशकमा आएका बजेटमा नागरिक झुक्याउने गन्थन बाहेक पोलिसी डिपार्चर गर्ने कुनै व्यवस्था गर्न सकेको देखिँदैन ।

 

अहिलेको सरकारले बजेट उत्पादन र कृषि क्षेत्रका लागि ‘क्रान्तिकारी’ भन्दै निकै कर्णप्रिय नाराहरूको साथ आफ्नो योजना सुनाएको छ । तर, त्यसमा कुनै नीतिगत व्यवस्थाले उत्पादन बढाउने बाटाहरू खोज्दा भेटिँदैन । कृषि उत्पादनका लागि प्रयोग हुने भूमिको व्यवस्थापन गर्न ‘कन्ट्रयाक फार्मिङ एक्ट’ अहिलेसम्म बन्न सकेको छैन ।अर्को विषय सिंहदरबारले कृषिमा क्रान्ती होइन, जमिनीस्तरमा काम गरेर मात्रै सम्भव थियो ।

 

निम्न वर्गका लागि रोजगारी सृजना गरेर आर्थिक असमानताको खाडल घटाउनुको साटो चुनावी भोट बटुल्न पपुलिष्ट बन्ने सरकारी नीति र बजेटले मुठीभरलाई मात्र पोष्ने विगतको दृष्टान्त छ भने, बहुसंख्यकको मन रिझाएको छ ।

 

अहिले उद्योगी–व्यवसायी लगायत निजी क्षेत्रले बजेटको प्रशंसा गरेको छ । तर, उनिहरूले आफ्नो पहुँचको आधारमा बजेटमा राख्न लगाएका विषयलाई उद्योगमैत्री भन्न सकिँदैन । सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याइएको भए पनि स्रोतको सुनिश्चिता र खर्च गर्न सक्ने क्षमता नहुँदा बजेटको आकारले पनि विश्वनियता गुमाउँदै गएको छ ।

 

अर्थतन्त्रको वास्तविक संरचना परवर्तनभन्दा लोकरिझ्याइँ र आकर्षक शब्दहरूले बुट्टा भरेर ल्याइएका बजेट र कार्यक्रम सुन्दा त आनन्द आउँछ, कार्यान्वयन भने शून्यप्रायः हुने गरेका छन् । यसअर्थमा भन्न सकिन्छ, सरकारले ल्याएको बजेट विगतकै निरन्तरता र कर्मकाण्ड पूरा हो, परिवर्तनको संकेत होइन ।

 

अर्थतन्त्रको समस्या सतहमा आएको यस समयलाई सरकारले नीतिगत सुधार र प्रस्थान विन्दुको रूपमा उपयोग गर्न सक्नुपर्ने पर्थ्यो । तर, बजेटको प्रवृत्ति र संरचना त परिवर्तन भएन नै कमजोर बनेको अर्थतन्त्र सुधारको स्पष्ट मार्गचित्र देखिएनन् । अहिले ल्याइएको बजेट खर्च हुने र स्रोत जुट्ने स्थिति यहाँ भनिरहनु पर्दैन ।

 

कुल बजेटमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड‚ पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड विनियोजन गरेको छ । विनियोजित स्रोत राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड र २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोरिने बताइएको छ ।

 

आयातमुखी अर्थतन्त्रको संरचना विस्थापित गर्नेतर्फ बजेटले केही समेटेको देखिँदैन् । कृषि क्षेत्रको उत्पादकत्वलाई निर्यात र रोजगारीसँग जोड्ने बताए पनि स्पष्ट रूपमा नेपालले निर्यात गर्नसक्ने वस्तुको उत्पादन र पहिचानमा प्राथमिकता दिएको छैन । अहिले नेपाली अर्थतन्त्र निर्यात भन्दा दैनिक उपभोग्य,सामान्य वस्तुको उत्पादन गरेर आयात प्रतिस्थापन गर्ने बाटोमा अघि बढ्नु हो ।

 

बढ्दो व्यापार घाटाले आर्थिक क्षेत्र अस्तव्यस्त बनाएको छ । वार्षिक बजेटभन्दा व्यापार घाटा बढी हुने देखिइसकेको छ । यस्तो समस्या समाधान गर्न सरकारले बजेटको आकार वृद्धिभन्दा उत्पादकत्व र आत्मनिर्भर अर्थतन्त्रमा ध्यान दिनुपर्थ्यो ।

 

‘रुग्ण’ अर्थतन्त्रको छैन समाधान

 

चालु आवको सुरूदेखि अर्थतन्त्रका सुचकहरू नकारात्मक छन् । बाह्य क्षेत्रमा देखिएको दबाब कम गर्न आयात कडाइ बाहेकका प्रयासहरू गरिएका छैनन् । आयातमा प्रतिबन्ध लगाउनु मात्र विनिमय संचिति जोगाउने उपाय होइन भन्ने कोरोनापछिको अर्थतन्त्रले देखाइसकेको छ ।

 

बढ्दो व्यापार घाटा र घट्दो रेमिट्यान्स आप्रवाहले भुक्तानी सन्तुलनमा चुनौती थपेको छ । क्रिप्टोकरेन्सी र हाइपरफन्ड जस्ता अनौपचारिक र डिजिटल माध्यमबाट ठूलो रकम विदेशिएको आँकलन छ ।

 

यस्ता अनौपचारीक आर्थिक क्षेत्र र वर्तमानमा देखिएको अर्थतन्त्रको समस्यालाई समाधान गर्न न नीति बनाइएको छ न समेटिएको नै छ । चालु आर्थिक वर्षको सुरूदेखि वित्तीय क्षेत्रले तरलता अभावको समस्या भोगिरहेको छ ।

 

कृषि र अर्थतन्त्र पुनरुत्थानको लागि छुट्याइएको पुनर्कर्जा र सहुलियतपूर्ण कर्जा घरजग्गा प्लटिङ र अनुत्पादक क्षेत्रमा गएको विभिन्न आँकडाहरूले देखाएको छ ।

 

यसअर्थमा आगामी आवको बजेट विद्यमान अर्थतन्त्रको समस्या समाधान गर्ने र सही मार्गमा प्रस्तान गर्ने उपयुक्त अवसर थियो । मुलुकको अर्थतन्त्र लिड गर्ने वित्त नीति नै ‘प्यारालाइज्ड’ भए समग्र अर्थतन्त्रको स्वास्थ्य नै खराब बन्छ भन्ने यथार्थ बुझ्न आफैंमा ढिला भइसकेको छ ।

 

स्वास्थ्य क्षेत्रमा सरकारले अनेकथरी घोषणा गरेको छ । विपन्न वर्गको लागि निःशुल्क मृगौला प्रत्यारोपणदेखि दीर्घरोगीका लागि भत्ता समेत दिने बताएको छ । असमान आर्थिक र भौगोलिक संरचना भएको मुलुकमा स्वास्थ्य क्षेत्र सुधारको नीति खै ? दशथरी घोषणा गरेर सीमित व्यक्तिको लाभभन्दा हरेक प्रदेशमा सुविधासम्पन्न अस्पताल निमार्ण गरेर आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था बनाउन सक्नुपर्थ्यो ।

 

सुधार र नीतिगत हस्तक्षपको उपयुक्त अवसरलाई अर्थतन्त्र सबलीकरणको आधार बन्ने अवस्थामा विगतको ‘टालटुले’ संस्कृति समयको बरवादी मात्र बन्ने देखिन्छ । एकातिर ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने सरकारी लक्ष्य र अर्कोतर्फ रोजगारी र उत्पादन वृद्धिभन्दा आयात गरेर उपभोग्य वस्तुमै लगानी गर्ने प्रवृत्ति छ ।

 

सामाजिक सुरक्षा भत्ताको उमेरहद घटाउनु, कर्मचारीको तलब वृद्धि र सहुलियतपूर्ण विद्युतीय चुल्हो वितरणको घोषणा यसका उदाहरण हुन् । यसले सरकारी नीति नै अस्पष्ट र अपार्दशी, ढुलमूले भएको प्रष्टै देखाउँछ ।

 

संघीयताको सिद्धान्त विपरीत

 

भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । बाँकी आर्थिक वर्ष पनि निर्वाचन वर्ष नै हुनेछ । संविधान निमार्णपछिको यो दोस्रो निर्वाचन हो । स्थानीय र प्रदेशहरूलाई संविधानले अधिकार प्रत्योजन गरेर क्षेत्राधिकार तोकिदिएको छ ।

 

विधान अनुसार निर्दिष्ट गरेका अधिकारहरू केन्द्रले नदिएको भन्दै बेलाबखत यसअघि नै जनप्रतिनिधिहरूले आवाज उठाउने गरेका थिए । बजेट विनियोजन र स्रोत तथा नीति बाँडफाँड्मा स्थानीय स्तरमा पनि केन्द्रकै हस्तक्षेप देखिएको छ । जसले आर्थिक क्षेत्रलाई सबल होइन अल्झाइरहेको छ ।

 

सरकारले आगामी आवको बजेटमा ६ कक्षासम्मका विद्यार्थिहरूलाई दिवा खाजा खुवाउन बजेट विनियोजन गरेको छ । यसैगरी, छात्रावृत्तिदेखि सुत्केरी, बालबालिकाको पोषण भत्तासम्मको विषय समेटेको छ ।

 

यहाँनेर स्थानीयस्तरका सामान्य कार्यक्रम केन्द्रले नै गर्छ भने किन चाहियो स्थानीय र प्रदेश सरकार भन्ने जबरर्जस्त प्रश्न खडा हुन्छ । जुन स्थानीय सरकारको अधिकार र संघीयताको सिद्धान्त विपरीत हो । सामान्य कार्यक्रमहरू स्थानीय तहमै छोडीदिए कागजी नाराहरूले बजेटका पृष्ठहरू पनि कम हुन्थे भन्ने ‘नाथे’कुरा कहिले बुझ्ने अर्थतन्त्रको बागडोर सम्हालेका मन्त्री र नीति निर्माताहरूले ।

 

मध्यम वर्ग खुसी पार्ने कोशिस

 

आमउपभोक्ता मूल्य वृद्धिको चरम चपेटामा छन् । अन्तर्राष्ट्रिय पस्थितिले सृजना गरेको मूल्य वृद्धिको शृंखला नेपाल मात्र नभएर विश्वले सामना गरीरहेको छ ।

 

मूल्यवृद्धिलाई वाञ्छनीय सीमाभित्र राख्ने घोषणा गरे पनि वास्तविकता भने छुँदैन् । पेट्रोलियम पदार्थमाथिको अचाक्ली करले सामान्य वर्ग नै समस्यामा छन् । यसप्रकारको मूल्य वृद्धि नियन्त्रण गर्ने योजना वा नीतिभन्दा विभिन्न क्षेत्रमा गरिएका घोषणाले प्रोत्साहन दिने देखिन्छ ।

 

सरकारले आय करको सीमा घटाएको छ । सरकारी कर्मचारीको १५ प्रतिशतले तलब वृद्धि गरेको छ भने ६८ वर्षमै वृद्धभत्ता दिने घोषणा गरेको छ । यसले विशेषगरी मध्यमवर्गलाई फाइदा हुने देखिन्छ ।सरकारी जागिर वा आयस्रोत नभएकाहरूका लागि महंगीको हेक्का राखिएन् । जसको कारण न्यून आय भएकाहरू नै झन समस्यामा पर्ने देखिन्छ ।

 

यसले के देखाउँछ भने निम्न वर्गलाई समाजवादी अर्थतन्त्रको द्धिविधामा राखेर आर्थिक असमानता बढाउने अर्थनीति र बजेटले मुलुकको अर्थतन्त्रलाई सही मार्गमा अघी बढाउन सक्दैन् ।

 

निम्न वर्गका लागि रोजगारी सृजना गरेर आर्थिक असमानताको खाडल घटाउनुको साटो चुनावी भोट बटुल्न पपुलिष्ट बन्ने सरकारी नीति र बजेटले मुठीभरलाई मात्र पोष्ने विगतको दृष्टान्त छ भने, बहुसंख्यकको मन रिझाएको छ ।

 

पूर्वाधारको छैन स्पष्ट ‘रोडम्याप’

 

औपचारीक माध्यमबाटै उच्च शिक्षा अध्ययनका लागि मात्रै झण्डै आधा खर्ब रकम बाहिरिएको राष्ट्र बैंककै तथ्यांक छ । शिक्षाकै लागि अनौपचारीक क्षेत्रबाट बाहिरिने रकमको हिसाब छैन ।

 

वार्षिक करिब १ लाख दक्ष जनशक्ति र खर्ब रकम बाहिरिने गरेको यर्थाथ हो । यत्ता विदेशी विनिमय संचिति जोगाउन सरकार हरसम्भव प्रयास गरिरहेको छ । यसअर्थमा सरकारले शैक्षिक क्षेत्रको रुपान्तरण र अर्बौ रुपैयाँ विदेशिनबाट जोगाउने नीतिको खोजी गर्नु पर्थ्यो । विश्वस्तरीय विश्वविद्यालय र शैक्षिक जनशक्ति उत्पादनको नीति बनाउन ढिला भएन र ? यसतर्फ बजेटको छेउ टुप्पोसम्म पुगेको छैन् ।

 

स्वास्थ्य क्षेत्रमा सरकारले अनेकथरी घोषणा गरेको छ । विपन्न वर्गको लागि निःशुल्क मृगौला प्रत्यारोपणदेखि दीर्घरोगीकालागि भत्ता समेत दिने बताएको छ । असमान आर्थिक र भौगोलिक संरचना भएको मुलुकमा स्वास्थ्य क्षेत्र सुधारको नीति खै ?

 

दशथरी घोषणा गरेर सीमित व्यक्तिको लाभभन्दा हरेक प्रदेशमा सुविधासम्पन्न अस्पताल निमार्ण गरेर आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था बनाउन सक्नुपर्थ्यो ।

 

सडक पूर्वाधारको विकासलाई महत्वपूर्ण रूपमा हेर्ने गरिन्छ । सरकारले विभिन्न राष्ट्रिय राजमार्गदेखि पालिका केन्द्रसम्म सडक सञ्जाल विस्तार गर्ने घोषणा गरेको छ । तर, यो सम्पन्न हुनेमा आशंका छ नै कनिका छरेजस्तै बजेट बनेको छ । जुन केही ठेकेदार र पहुँचवालाको हातमा मात्र पुग्छ ।

 

हरेक योजनामा केही रकम छुट्याएर अलपत्र पार्नेभन्दा एउटामात्र निमार्ण सम्पन्न गर्नसक्ने नीति बनाउन चुकेको छ । अथवा, यस्ता योजना निमार्णमा निजी क्षेत्रलाई दिन आनाकानी गर्नुको औचित्य नै छैन् ।

 

स्थानीयतहका केन्द्र सदरमुकाम जोड्ने सडक निमार्णको जिम्मा सम्बन्धित निकायलाई दिएर सरकारले राष्ट्रिय राजमार्ग स्तरोन्नतिको काम द्रुत गतिमा अघि बढाउने योजना बनाउनु सकेन् ।

 

वर्षेनी अर्बौ छुट्याएर महत्वका योजना अलपत्र पार्ने प्रवृत्ति छ । त्यस्ता योजनाले लागतको प्रतिफल कहिले दिने ? नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिएको ऊर्जा क्षेत्रमा पनि बजेटले खासै सुधार ल्याउनेमा आशंका नै छ ।

 

बर्खामा विद्युत् उत्पादन बढी भएर खेर जाने र हिउँदमा नपुग्ने गरेको छ । यस्तो समस्या समाधानका लागि सरकारले प्रशारणलाइन निमार्णको लागि महत्व दिनुपर्ने आवश्यकता छ । साथै, हरेक योजनामा केही रकम छुट्याएर अलपत्र पार्नेभन्दा एउटामात्र निमार्ण सम्पन्न गर्नसक्ने नीति बनाउन चुकेको छ । अथवा, यस्ता योजना निमार्णमा निजी क्षेत्रलाई दिन आनाकानी गर्नुको औचित्य नै छैन् ।

 

कृषिको नाममा बेमौसमी बाजा

 

कागजमा कृषि प्रधानदेश भनिए पनि व्यवहारमा भने कृषकले वार्षिक आफैंलाई खान पुग्नेगरी अन्न फलाउन सक्दैनन् । नेपाली श्रम बजारमा वार्षिक ५ लाख बढी बेरोजगार जनशक्ति आउने गरेको बताइन्छ । त्यो सक्रिय जनशक्ति मौसमी कृषि खेतिमै अल्झिएको छ । भौगोलिक रूपमा पनि कृषि उत्पादकत्व वृद्धि गर्ने नेपालको संरचना नै छैन् ।

 

ग्रामीण क्षेत्रको हरेक परिवार कुनै न कुनै रूपमा कृषिमा अल्झिएकै छन् । यस्तो अवस्थामा कुन वास्तविक कृषक हो वा होइन भन्ने ने एकीन छैन् । सरकारले भने आगामी आवको बजेटमा कृषक पेन्सन र कोषको स्थापना गर्ने घोषणा गरेको छ । वास्तविक कृषक नै छुट्याउन नसक्ने अवस्थामा कसरी पेन्सन दिने भन्ने सरकारी नीति नै द्धिविधायुक्त छ ।

 

कृषकको नाममा कर्जा लिएर अन्यत्रै लगानी गरेको विगतका उदाहरणहरू थुप्रै छन् । जो वास्तविक कृषक हुन, उनीहरूले न समयमा बीउ पाउँछन् न मल । यस अर्थमा कृषकका नाममा सरकारले समवेश गरेको यो घोषणा बकवास र वाहीयात मात्र हो ।

 

आफैंले उब्जाएको तरकारी, दूध मूल्य र बजार नपाएर फाल्नुपरेको कृषको पीडा कम दुखदायी छैन । उत्पादकत्व वृद्धि र बजार सुनिश्चिता गरेर कृषकहरूलाई रोजगारी र आत्मनिर्भर बनाउने कार्यक्रम समावेश गरिएको देखिन्न । कृषकका नाममा हालिमुहाली भएकाहरू झनै मोटाउने देखिन्छ ।

 

कृषि अर्थतन्त्रको रुपान्तरणमा बजेट चुकेको छ । जहाँ नीतिगत ‘डिपार्चर’ गरेर उत्पादन र रोजगारीमुखी अर्थतन्त्रको बाटो सरकारले रोज्नुपर्थ्यो ।

 

 

एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई विक्री खुला Read Previous

एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई विक्री खुला

जुत्ताचप्पल क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक Read Next

जुत्ताचप्पल क्षेत्रमा आत्मनिर्भर बन्ने सरकारको नीति सकारात्मक