काठमाडौं । ठूला चाडपर्व नजिकिएसँगै दशैंमा करिब १५ अर्ब रुपैयाँ बराबरको कपडाको कारोबार हुने देखिएको छ । आन्तरिक उत्पादन तथा आयात दुवैगरि करिव १५ अर्ब रुपैयाँ बराबरको कपडाको कारोबार हुने हिमालय सीमापार वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष बच्चु पौडेलले जानकारी दिए ।
हिन्दूहरुको ठूला चाड दशैं र तिहार नजिकिएसँगै बजारमा रौनक बढेको छ । दशैं आउन १ महिनाअघि देखि बजारमा रौनक छाएतापनि पछिल्लो १० दिनबाट भने निकै चहलपहल सुरु भएको व्यापारीहरुको भनाई छ ।
दशैंका लागि नयाँ लुगा, लत्ताकपडा तथा सरसामान खरिद गर्नेको भीड काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक, महाबौद्ध लगायतका स्थानमा लाग्न थालेको छ ।
दशैं मनाउनेहरुले हरेक दशैंमा नयाँ लुगा लगाउने प्रचलनले कपडा बजारलाई उचाईमा पुर्याउने गरेको न्यूरोडस्थित संकटा बजारका कपडा व्यापारी राधिका थापा बताउँछिन् । यसै चलनका कारण हरेक दशैंमा कपडाको बजार उचाईमा पुग्ने गरेको र अन्य समयमा ठिकठिकै व्यापार हुने गरेको थापाको भनाई छ ।
अहिले दशैंको समयमा भने अन्य समयको भन्दा निकै व्यापार वृद्धि हुने गरेको उनी बताउँछिन् । दशैं लागेसँगै पछिल्लो एक महिनाको अवधिमा करिब १५ देखि २० प्रतिशतले व्यापार बढेको उनको भनाई छ । यद्यपी पछिल्लो केही वर्षयता भने दशैंमा नयाँ लुगा लगाउने प्रचलनमा केही कमी आएको पनि उनले बताईन् ।

नेपालमा बच्चाहरुमात्रै नभएर युवायुवाती तथा वृद्धहरु सबैले दशैंमा नयाँ लुगा लगाउने प्रचलन रहेको छ । युगौंदेखि चलिआएको यो प्रचलन हालपनि कायमै रहेको छ ।
सामान्यतः दैनिक ५ देखि ८ हजारसम्मको व्यापार हुने गरेकोमा अहिले दशैं नजिकीएसँगै १२ देखि १५ हजारसम्मको व्यापार हुन थालेको भृकुटीमण्डपमा व्यापार गर्दै आएका व्यापारी सरोज कार्कीले बताए । मुख्यगरी महिलाहरुले बढी सामान खरिद गर्ने गरेको उनले सुनाए ।
भारत, चीन र थाइल्याण्डबाट मुख्यगरी दशैंका लागि कपडा बढी आयात हुने गरेको कार्की बताउँछन् । यस बाहेक अन्य देशहरुबाट पनि केही मात्रामा कपडा आयात हुने गरेको व्यापारी कार्कीले खुलाए ।
बजारमा नयाँ नयाँ कपडाको माग बढेको भृकुटीमण्डप बजारकी अर्की व्यापारी उर्मिला श्रेष्ठ बताउँछिन् । उनका अनुसार आजभोलिको चलनचल्तिमा रहेको कपडाको खोजिमा खरिदकर्ताहरु बजार आउने गरेका छन् । अन्य समयको तुलनामा दशैंमा बढी विक्री हुने गरेको छ व्यापारि श्रेष्ठ बताउँछिन् । यसवर्ष करिब ३० प्रतिशतसम्मले व्यापार वृद्धि हुने उनको अनुमान रहेको छ ।
दशैंको समयमा नेपालमा कपडा व्यापारको लागि स्वदेशबाट मात्रै नभई दार्जलिङबाट समेत व्यापारी आउने गरेको न्यूरोडका होलसेल व्यापारी राजेश अग्रवाल बताउँछन् । उनका अनुसार यो समय कपडाको व्यापारमा ३० देखि ५० प्रतिशतसम्म फाइदा हुने गरेको छ ।

आयातमा पनि वृद्धि
दशैंको समयमा अन्यको तुलनामा बढी आयात हुने गरको भन्सार विभागका अधिकारीहरु बताउँछन् । विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७५/७६ को साउनमा १ अर्ब १६ करोड ५६ लाख रुपैयाँ बराबरको विभिन्न प्रकारका कपडा आयात भएको थियो ।
यसैगरि दशैंलाई लक्षित गरि चालू आव अर्थात २०७६/७७ को साउनमा भने २ अर्ब १५ करोड ७२ लाख रुपैयाँ बराबरको आयात भएको तथ्यांकले देखाएको छ ।
विभागका तथ्यांक निर्देशक शिशिर घिमिरेका अनुसार दशैंका लागि आयात गरिने कपडा चीन, थाइल्याण्ड र कम्बोडियाबाट बढी आयात हुने गरेको छ । उनका अनुसार चीनबाट मात्रै करिब ९० प्रतिशत कपडा आयात हुने गरेको छ । त्यस्तै भारतबाट पनि केही मात्रामा दशैंका लागि कपडा आयात हुने गरेको विभागको तथ्यांकले देखाएको छ ।
आयात हुने कपडामा मुख्यगरि बच्चाको कपडा बढी मात्रामा रहने तथ्यांकले देखाएको छ । दशैंका लागि साउनदेखि नै कपडाको आयात सुरु भएतापनि भदौ र असोजलाई मुख्य ‘सिजन’ मानिने विभागको ठम्याई रहेको छ ।