काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।
आइओसीले निगमलाई बुधबार (जेठ १८ गते) इन्धनको नयाँ मूल्यसूची पठाएको हो । निगमका अनुसार पेट्रोल र मट्टितेलको मूल्य बढेर आएको छ भने खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको छ ।
जेठ १८ गते प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८.२१ रुपैयाँ र मट्टितेल प्रतिलिटर ६.९८ रुपैयाँ बढेर आएको छ । डिजेल प्रतिलिटर ७.०४ रुपैयाँ, एलपी ग्यास प्रतिसिलिन्डर १२२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३.३६ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।
पेट्रोल खरिद लागत २०२.९८ रुपैयाँ र डिजेलको १७६.०९ रुपैयाँ रहेको निगमले जनाएको छ । सरकारले बजेटमार्फत नै परल (लागत) मूल्यममा इन्धन बेच्ने घोषणा गरेको छ । सो अनुसार अब परल मूल्यमा बेच्दा पेट्रोलको भाउ २०२.९८ रुपैयाँ र डिजेलको १७६.०९ रुपैयाँ पुग्ने छ ।
आइओसीले निगमलाई हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गर्छ । सोही अनुसार निगमले नेपालमा पनि इन्धनको मूल्य समायोजन गर्ने गरेको छ ।
हाल निगमलाई मट्तीतेल र हवाई इन्धनमा नाफा भए पनि डिजेल, पेट्रोल र खना पकाउने ग्यासका घाटा रहेको छ । आगामी १५ दिनमा निगमलाई थप ३ अर्ब ७ करोड नोक्सानी हुने निगमको प्रक्षेपण छ ।