सुरक्षित कारोबार र कर्जा विविधीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तर्राष्ट्रि«य वित्त निगम (आईएफसी÷विश्व बैंक) को सहकार्यमा सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा काठमाडौंमा कार्यक्रम सम्पन्न भएको छ ।

 

घरेलु, लघु, साना तथा मझौला उद्यमहरुलाई नेपाली अर्थतन्त्रको आधारस्तम्भ मानिए पनि वित्तीय साधनको पहुँचमा कठिनाइ हुने भएकाले कर्जा विविधीकरणलाई प्रोत्साहन गर्न एवं वित्तीय पहुँच अभिवृद्धिका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

 

नेपालमा लघु, घरेलु, साना तथा मझौला उद्यमहरुको क्रेडिट ग्याप करिब ३.६ अर्ब रुपैयाँ रहेको विश्व बैंकको तथ्याङ्कले देखाएको छ । विकास निर्माणको करिब ९८ प्रतिशत हिस्सा ओगटेको र करिब ५७ प्रतिशत श्रमशक्तिलाई रोजगारी प्रदान गरिरहेको यस क्षेत्रको अति महत्वपूर्ण योगदान रहदा रहदै पनि घरजग्गा धितोको अभावका कारण कर्जा र वित्तीय पहुँचमा समस्या झेल्दै आइरहेका छन् ।

 

मूलतः यसै विषयलाई मध्यनजर गर्दै सुरक्षित कारोबार ऐनमा भएका व्यवस्थाहरुको सुधार गर्दै बैंक तथा वित्तीय संस्थालाई कर्जा विविधिकरण गर्न प्रोत्साहन गर्नु र वित्तीय पहुँचमा सहयोग पुर्याउनु उक्त कार्यक्रमको उद्देश्य रहेको थियो ।

 

“अहिलेको उन्नत बजारमा चल सम्पत्तिलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्तीका लागि धितोको प्राथमिक आधारको रुपमा प्रयोग गर्ने गरिन्छ”, आईएफसी/विश्व बैंकका नेपालका लागि आवासीय प्रतिनिधि बाबाकर एस. फायले बताए । उनले भने, ‘हाल प्रचलित चल धितो सम्पत्तिले वित्तीय एवं आर्थिक विकास र कर्जाको जोखिम एवं कर्जा लागत न्यूनिकरण गर्नुका साथै लघु, घरेलु, साना तथा मझौला उद्यमहरु(एमएसएमई) हरुको वित्तीय पहुँच बढाउन मद्दत पुर्याउँछ ।’

 

सिबिफिनका अध्यक्ष पवन कुमार गोल्यानले भने, ‘चल धितो सम्पत्तिको अवधारणाले लघु, साना तथा मझौला उद्यमी तथा व्यवसायी, कृषि व्यवसायी कारोबारी एवं पूर्वाधार विकास कम्पनीहरुको वित्तीय पहुँचसहित विकास एवं विस्तारमा महत्वपूर्ण सहयोग गर्नेछ ।’

 

उनले लघु, घरेलु, साना तथा मझौला उद्यम (एमएसएमई) र संस्थागत क्षेत्रको वित्तीय पहुँच बढाउन एवं वित्तीय समावेशीकरण र आयात प्रतिस्थापनको वृहत उद्देश्य प्राप्त गर्न देशका सम्पूर्ण सरोकारवाला निकायले एकजुट भएर चल धितो सम्पतिको अवधारणालाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे ।

 

अन्तर्राष्ट्रि«य वित्त निगम (आईएफसी/विश्व बैंक) का विषयविज्ञहरुले सुरक्षित कारोबार र वित्तीय पहुँच विस्तारका व्यवसायिक उदाहरणहरु प्रस्तुत गर्दै, नेपालमा धितो दर्ताको भूमिका र सुरक्षित कारोबार तथा वित्तीय पहुँचलाई अझ प्रभावकारी र सुदृढ बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

 

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट सहभागिता जनाएका प्रतिनिधिहरुले नेपालमा सुरक्षित कारोबार, चल धितो सम्पत्ति र वित्तीय पहुँच अभिवृद्धिका विषयमा थप जानकारी दिएको र कार्यक्रमले सकारात्मक प्रभाव पार्ने बताएका थिए ।

‘चुनाव अभिप्रेरित ‘ग्राउन्ड रियालिटी’ भुलेको बजेट’ Read Previous

‘चुनाव अभिप्रेरित ‘ग्राउन्ड रियालिटी’ भुलेको बजेट’

भूमिलाई १० क्षेत्रमा वर्गीकरण, जग्गा बाँझो राखे १ लाख जरिवाना Read Next

भूमिलाई १० क्षेत्रमा वर्गीकरण, जग्गा बाँझो राखे १ लाख जरिवाना