काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । यससाता सोमबारदेखि निरन्तर ओरालो लागेको नेप्सेले तेस्रो दिन पनि सोही लय कायम राखेको हो । यस साताको ३ दिनमा मात्रै नेप्से ९३ अंकले घटेको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २४ करोडले घटेर १ अर्बमा सीमित भएको छ ।
बुधबार नेप्से ७.२१ अंकले घटेर २१३०.७१ विन्दुमा आइपुगेको छ । यसदिन २२७ कम्पनीको १ अर्ब ७ करोड ८४ लाख ८४ हजार १८२ रुपैयाँ बराबरको ३० लाख २० हजार ७६ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक बढेको छ भने १० समूहको परिसूचक घटेको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ०.६८ प्रतिशतले बढेको छ भने व्यापार समूह १.८३ प्रतिशतले घटेको छ ।
आज नेपाल इन्भेष्टमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरी साढे ४ करोड र शिखर इन्स्योरेन्स पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
एकल अंकले घटेको बजारमा आज शिखर इन्स्योरेन्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंक ७.२५, गुँरास लघुवित्त ७.०१, लाइफ इन्स्योरेन्स कर्पोरेशन ६.८०, मानुषि लघुवित्त ४.७२, एनआइसी एशिया ग्रोथ फण्ड ४.७१, सूर्य लाइफ, लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इदिमर्दी र विजय लघुवित्तका सेयरधनीले साढे ३ प्रतिशत गुमाएका छन् ।
घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पाजेटिभ सर्किट लागेको छ । मैलुङ खोलाको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ भने बलेफी हाइड्रोपावरको करिब १० प्रतिशतले बढेको छ ।